सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश शारंगा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै पाण्डेलाई तत्काल रिहा गर्न आदेश दिएको हो। अदालतले विदेश जानुपरेमा भने पूर्वअनुमति लिएर मात्र जान पाउने शर्तसमेत तोकेको छ ।
पाण्डेलाई गत बुधबार स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत असोज ३ गते स्मार्ट सेलसँग सम्बन्धित दूरसञ्चार उपकरण तथा अन्य सामग्री लिलाम बिक्रीका लागि सूचना प्रकाशित गरेको थियो। उक्त सूचनामा बोलपत्रदाताले उपकरणको मूल्यसँगै सम्बन्धित घरधनीलाई तिर्नुपर्ने बाँकी घरबहाल र विद्युत महसुलसमेत ४० करोड रुपैयाँ एकमुष्ट कबुल गर्नुपर्ने उल्लेख गरिएको थियो ।
प्रहरीको आरोपअनुसार बैंकले सो रकम संकलन गरे पनि सम्बन्धित घरधनीलाई घरबहाल र विद्युत महसुल नतिरेको भन्दै ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको थियो ।









