अस्ट्रेलियाको संघीय अदालतले ‘बासमती’ शब्दलाई प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न माग गर्दै भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण (एपिडा) ले दायर गरेको पुनरावेदन खारेज गरिदिएको छ। न्यायाधीश डाउलिङ जेले मङ्गलबार फैसला सुनाउँदै एपिडाले प्रस्ताव गरेको ‘बासमती’ शब्दले उसको प्रमाणीकरण पाएको चामल र अन्य बासमती चामलबीच भिन्नता छुट्याउन नसक्ने ठहर गर्नुभएको हो। अदालतले बासमती चामल हिमालयको फेदीमा रहेको सिन्धु-गंगा मैदानका उत्तर भारत र पाकिस्तानका केही भूभागमा उत्पादन हुने र यसको नटी अरोमा, लामो तथा पातलो दाना, नरम बनोट एवं हल्का बाङ्गिएको आकार यसका मुख्य विशेषता भएको उल्लेख गरेको छ।
भारतले अस्ट्रेलियाको ट्रेडमार्क रजिस्ट्रारको कार्यालयमा २८ अगस्ट २०१८ मा ‘बासमती’ लाई प्रमाणीकरण ट्रेडमार्कका रूपमा दर्ता गर्न आवेदन दिएको थियो। उक्त आवेदन २२ डिसेम्बर २०२२ मा अस्वीकृत भएपछि एपिडाले २०२३ मा अस्ट्रेलियाली संघीय अदालतमा पुनरावेदन गरेको थियो। अदालतले ‘बासमती’ शब्द भारतको मात्र हुन नसक्ने र एपिडाबाट भौगोलिक संकेत वा प्रमाणीकरण नपाएका भारतबाहिरका उत्पादकहरूले पनि यसलाई प्रयोग गर्न सक्ने फैसला गरेको छ। एपिडाले पेस गरेको उपभोक्ता सर्वेक्षणले पनि यो शब्दलाई उसको प्रमाणीकरणसँग जोडेको नदेखिएको र ट्रेडमार्क ऐन १९५५ को दफा १७७ अनुसार दर्ता गर्न नमिल्ने निष्कर्ष निकाल्दै अदालतले एपिडालाई प्रतिवादीको मुद्दा खर्च भर्न आदेश दिएको छ।
यसैबीच, पाकिस्तानले अस्ट्रेलियाली अदालतको यो फैसलाको स्वागत गरेको छ। पाकिस्तानको वाणिज्य मन्त्रालयले यस निर्णयले बासमतीलाई भौगोलिक संकेतका रूपमा मान्यता दिनुपर्ने उसको निरन्तर अडानको पुष्टि गरेको जनाएको छ। पाकिस्तानी वाणिज्यमन्त्री जम कमाल खानले अदालतको निर्णयलाई पाकिस्तानको कृषि विरासत, व्यावसायिक हित र निर्यात पहिचानका लागि महत्त्वपूर्ण उपलब्धि भन्नुभएको छ। ऐतिहासिक रूपमा पाकिस्तान र भारतका विभिन्न क्षेत्रमा फैलिएको बासमतीमा कुनै एक देशको निकायले एकाधिकार दाबी गर्न नसक्ने पाकिस्तानको भनाइ छ।
नेपालमा उत्पादन तथा प्याकेजिङ हुने बासमतीमा पनि भारतले आपत्ति जनाउँदै आएकाले यो फैसला नेपालका लागि समेत महत्त्वपूर्ण मानिएको छ। बौद्धिक सम्पत्ति तथा अन्तर्राष्ट्रिय व्यापार कानुनका विज्ञ अधिवक्ता गौरीशकृष्ण खरेलका अनुसार फैसलाले बासमतीलाई भारतीय उपमहाद्वीप क्षेत्रमै फल्ने उत्पादनका रूपमा स्वीकारेकाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पक्ष राख्न निकै लाभदायक हुनेछ। नेपालले युरोपियन युनियनमा प्रतिवाद गरेपछि एपिडाले नेपाली उद्योगका ट्रेडमार्कविरुद्ध उजुरीको ताँती लगाएको अवस्थामा अस्ट्रेलियाली अदालतले पाककला पुस्तक, शब्दकोश र ‘अक्सफोर्ड कम्प्यानियन टु फुड’ जस्ता स्रोतहरूको अध्ययनका आधारमा ‘बासमती’ लाई कुनै एक देशको मात्र प्रमाणित उत्पादन मान्न नमिल्ने स्पष्ट पारेको छ।







