२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

पत्रकार किशोर श्रेष्ठ पक्राउ



काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बुधबार साँझ ललितपुरस्थित उनको निवासबाट श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालित भएको थियो। प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार श्रेष्ठविरुद्ध एक जना पीडितले उजुरी दिएका छन्। केही दिनअघि उनको सञ्चारमाध्यममा प्रकाशित तस्बिरसँग सम्बन्धित विषयमा उजुरी परेको घिमिरेले बताएका छन्। उनका अनुसार हालसम्म श्रेष्ठविरुद्ध एउटा मात्रै उजुरी परेको छ।

पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौँकै हिरासतमा राखिएको छ। प्रहरीले उनलाई बिहीबार अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।

यसैबीच, उपसभामुख रुवीकुमारी ठाकुरले पनि बुधबार प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन्। जनआस्था डटकमको सामाजिक सञ्जाल पेजमा आफ्नो तस्बिरसहित आपत्तिजनक तथा धम्कीपूर्ण प्रकृतिको सामग्री प्रकाशित भएको भन्दै उनले उजुरी दिएकी हुन्।

उपसभामुख ठाकुरले आफ्नो उजुरीमार्फत प्रकाशित सामग्रीमा उल्लिखित आरोप तथा दाबीको स्रोत र प्रमाण झिकाई निष्पक्ष छानबिन गर्न माग गरेकी छन्।

प्रहरीले श्रेष्ठविरुद्ध परेको उजुरीका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले बताएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ८ : १३ बजे