बेल्जियमको पूर्वी फ्ल्यान्डर्समा एउटा पुरानो घर मर्मत गर्ने क्रममा कामदारहरूले भित्ताभित्र लुकाइएको करिब ९० लाख युरो (झण्डै १ अर्व ६० करोड रुपैयाँ) मूल्यको सुन फेला पारेपछि अहिले एउटा रोचक कानुनी प्रश्न उठेको छ, सुन भेट्टाउनेको हुने कि घरधनीको?
घरको भूमिगत भागमा नयाँ ढलको पाइप राख्न जग खन्ने क्रममा निर्माण मजदुरहरूले सुनका सिक्का र बार भेट्टाएका थिए । सुरुमा उनीहरूले भेटिएको वस्तु सुन हो भन्ने नै पत्याउन सकेनन् । तर सुनको डल्लासमेत देखिएपछि उनीहरूले ठूलो धनराशि भेटिएको थाहा पाए ।
निर्माणस्थलका कामदारहरूले सुन आफैं राख्न सम्भव नभएको भन्दै प्रहरीलाई खबर गरे । प्रहरीले सबै सुन सुरक्षित स्थानमा सारेको छ । घटनाबारे अनुसन्धानसमेत अघि बढाइएको छ ।
तर अब सुनको वास्तविक मालिक को हुने भन्ने प्रश्नले घटनालाई अझ रोचक बनाएको छ ।
मालिक भेटिएन भने आधा–आधा?
यदि पाँच वर्षभित्र वास्तविक मालिक दाबी गर्न आएन र सुन कुनै आपराधिक गतिविधिसँग सम्बन्धित नरहेको पुष्टि भयो भने बेल्जियमको नागरिक कानुनअनुसार अरूको सम्पत्तिमा लुकेको खजाना भेट्टाउने व्यक्ति र उक्त सम्पत्तिको मालिकबीच बाँडिन सक्छ ।
यही व्यवस्थाका कारण अहिले निर्माण कम्पनीका कामदार र घरको वर्तमान स्वामी दुवैको सम्भावित दाबी देखिएको हो ।
यो अवस्थामा कामदारहरूले ‘हामीले भेट्टायौँ’ भनेर सम्पूर्ण सुन आफ्नो बनाउन सक्ने छैनन् । अर्कोतर्फ, घरधनीले ‘घर मेरो हो, त्यसैले भित्र भेटिएको सबै मेरो हो’ भन्न पनि सक्ने अवस्था हुँदैन ।
कानुनले यहाँ एउटा रोचक सन्तुलन खोजेको देखिन्छ—सम्पत्ति भएको ठाउँको स्वामित्व र खजाना फेला पार्ने श्रम, दुवैलाई महत्व ।
तर घरधनी पनि सामान्य व्यक्ति होइन
यो घटनामा अर्को रोचक पक्ष के छ भने घर कुनै निजी व्यक्तिको नभई एउटा कल्याणकारी संस्थाको स्वामित्वमा छ । संस्थाले डेन्डरमोन्डे क्षेत्रमा सामाजिक तथा कल्याणकारी सेवा प्रदान गर्छ ।
सुनभन्दा ठूलो रहस्य : कसले लुकायो ?
९० लाख युरोको सुन भेटिएको समाचारले सबैभन्दा ठूलो कौतूहल भने रकमले होइन, यसको इतिहासले पैदा गरेको छ ।
कुन समयमा सुन त्यहाँ राखियो ? कसले राख्यो ? किन भूमिगत संरचनामा लुकाइयो ? युद्ध, आर्थिक संकट वा आपराधिक गतिविधिको समयको सम्पत्ति हो ? कुनै परिवारले पुस्तौँदेखि लुकाएर राखेको धन हो ? वा कुनै अपराधसँग जोडिएको रकम हो ?
यी प्रश्नको उत्तर नआएसम्म सुनको कानुनी स्वामित्व पनि पूर्ण रूपमा स्पष्ट हुने छैन ।
प्रहरीले निर्माणस्थलमा थप सुन खोज्न मानिसहरू नआऊन् भनेर चेतावनीसमेत दिएको छ। सुन भेटिएको खबर फैलिएपछि मानिसहरू पुरानो घरको वरिपरि खजाना खोज्न पुग्न थालेपछि प्रहरीले स्थललाई नियन्त्रणमा लिएको हो।
पाँच वर्षसम्म वास्तविक मालिक खोजिने
बेल्जियमको कानुनअनुसार हराएको वा लुकाइएको धनको वास्तविक मालिकले दाबी गर्न पाँच वर्षसम्मको समय पाउँछ । त्यसैले अहिले फेला परेको सुन तुरुन्तै निर्माण मजदुर वा घरधनीको हुने अवस्था छैन ।
प्रहरी र अभियोजन पक्षले सुन कहाँबाट आयो, कसले लुकाएको थियो र त्यसको कुनै आपराधिक गतिविधिसँग सम्बन्ध छ कि छैन भन्ने विषयमा अनुसन्धान गर्नेछ ।
यदि सुनको वास्तविक मालिक प्रमाणसहित अगाडि आयो भने उसैलाई सम्पत्ति फिर्ता हुन सक्छ । त्यसका लागि मालिकले सुनसँग आफ्नो सम्बन्ध र स्वामित्व प्रमाणित गर्नुपर्ने हुन्छ ।
यही कारण अहिलेको ९० लाख युरोको सुनभन्दा ठूलो प्रश्न ‘यो सुन कसले र किन यहाँ लुकायो ?’ भन्ने बनेको छ ।
अपराधसँग जोडिएको भए अवस्था फरक
कानुनले लुकेको धन भेटिएको मात्र आधारमा त्यसलाई ‘खजाना’ मानेर खोज्ने र घरधनीबीच बाँडिदिने व्यवस्था गरेको छैन । पहिले उक्त सम्पत्ति कुनै अपराधसँग सम्बन्धित छ कि छैन भन्ने पनि हेरिन्छ ।
उदाहरणका लागि सुन चोरी, तस्करी, ठगी वा अन्य आपराधिक गतिविधिबाट प्राप्त भएको प्रमाणित भयो भने त्यसको स्वामित्वको प्रश्न अलग ढंगले टुंगिन्छ । त्यस अवस्थामा ‘भेट्टाउने’ र ‘घरधनी’बीच बाँडिने सामान्य व्यवस्था लागू नहुन सक्छ ।
त्यसैले अभियोजन पक्षको अनुसन्धानले यो सुनको विगत पत्ता लगाउनु महत्वपूर्ण हुनेछ ।
–बीबीसीबाट









