३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

सांसद खगेन्द्र सुनारले महिलीलाई दुर्व्यबहार गरेको भनिएको घट्नाको छानविन कसरी भईरहेको छ?



काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एक महिलालाई फोनमा दुर्व्यवहार गरेको भन्दै सार्वजनिक भएको अडिओ आफ्नो नभएको दाबी गरेका छन्। सांसद सुनारले पार्टीको केन्द्रीय अनुशासन आयोगमा स्पष्टीकरण बुझाउँदै उक्त अडिओमा बोलेको व्यक्ति आफू नभएको जबाफ दिएका हुन्।

सांसद सुनारको स्पष्टीकरण प्राप्त भएसँगै रास्वपाको अनुशासन आयोगले हरिचन्द्र भट्टराईको संयोजकत्वमा ६ सदस्यीय अनुसन्धान समिति गठन गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

अडियो सार्वजनिक भएलगत्तै सांसद सुनारले सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै उक्त आवाज कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी बनाइएको दाबी गरेका थिए। तर, अनुशासन आयोगमा बुझाएको लिखित स्पष्टीकरणमा भने उनले ‘एआई’ को जिक्र नगरी अडिओमा भएको आवाज आफ्नो नभएको मात्र उल्लेख गरेका छन्।

अनुसन्धान समितिका संयोजक हरिचन्द्र भट्टराईले प्रकरणबारे अनुसन्धान अर्को चरणमा पुगेको जानकारी दिएका छन्।

खगेन्द्रजीले आयोगले मागेको स्पष्टीकरण बुझाइसक्नुभएको छ। उहाँले त्यो अडिओको आवाज आफ्नो नभएको भन्ने स्पष्टीकरण दिनुभएको छ। अब हामी स्वतन्त्र प्रमाण जुटाउने चरणमा काम गर्दैछौँ,” संयोजक भट्टराईले भने।

समितिले अहिले घटनासँग सम्बन्धित स्वतन्त्र प्रमाण जुटाउने र प्राविधिक विश्लेषण गर्ने कार्य गरिरहेको छ। अनुसन्धान सकिएपछि समितिले आयोगलाई आफ्नो प्रतिवेदन बुझाउने जनाइएको छ।


प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ११ : ०२ बजे