२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

राजनीति चुनाव र पदका लागि मात्र होइन, ठूलो मतले हामीलाई माटामा फर्काउनुपर्छ: रवि लामिछाने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताबाट प्राप्त अपार जनमत र बहुमतबाट पार्टीका नेता तथा कार्यकर्ताहरू मात्तिन नहुने बताएका छन् । चितवनमा आयोजित पार्टी कार्यक्रममा सम्बोधन गर्दै उनले जनताले दिएको जिम्मेवारी र शक्तिलाई दम्भको रूपमा नलिन आग्रह गरेका हुन् ।

चितवनप्रतिको आत्मीयता व्यक्त गर्दै सभापति लामिछानेले आफू आउन केही ढिला भए पनि सरकारका नीति र संरचनाहरू जनताको घरदैलोमै रहेको विश्वास व्यक्त गरे। चितवनका जनताको विश्वास र सङ्घर्षकै कारण पार्टीले राष्ट्रिय राजनीतिमा यो ऐतिहासिक सफलता हासिल गरेको उल्लेख गर्दै उनले यसका लागि सम्पूर्ण चितवनवासीप्रति आभार प्रकट गरे। पुरानो राजनीतिक दल र विरासत छोडेर रास्वपामाथि भरोसा गर्ने जनता र कार्यकर्ताहरूको विश्वासलाई पार्टीले कुनै पनि हालतमा डगमगाउन नदिने उनले स्पष्ट पारे।

पार्टीभित्र देखिएका विचलन र अवसरवादी प्रवृत्तिको आलोचना गर्दै सभापति लामिछानेले कार्यकर्ताहरूले साना पदहरू छोडेर सीधै ठूला पद र अवसर खोज्न थालेको बताए। टिकट नपाउँदा पार्टी छोड्ने र आफ्नै साथीहरूप्रति आरिस गर्ने प्रवृत्तिले लामो समयसम्म नटिक्ने चेतावनी दिँदै उनले राजनीति भनेको केवल चुनाव जित्नका लागि मात्र नगरिएको प्रस्ट्याए। चुनाव हारिँदैमा राजनीति नसिद्धिने भन्दै उनले निष्ठा, त्याग र वैचारिक प्रतिबद्धता नै राजनीतिको मूल आधार हुनुपर्नेमा जोड दिए।

पार्टीको आन्तरिक व्यवस्थापन र आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले विधि र पद्धतिको पालना गर्न सबैलाई आग्रह गरे। आन्तरिक प्रतिस्पर्धामा हारजित स्वभाविक भए पनि व्यक्तिगत महत्ताकांक्षाका कारण पार्टीलाई क्षति पुर्‍याउने छुट कसैलाई नभएको उनको भनाइ थियो। जनताले पठाएको मत शासन गर्न वा फुर्ती गर्न नभई सेवा गर्नका लागि भएको भन्दै उनले सबै नेता तथा कार्यकर्ताहरूलाई भुइँमा खुट्टा टेकेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिए।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शुक्रबार  ९ : ५५ बजे