६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

घ्याल्सुम्दोका अमेरिकाबासीले मनाए ग्याल्पो ल्होसार



घ्याल्सुम्दो सेवा संस्था, अमेरिकाले विभिन्न साँस्कृतिक कार्यक्रमसहित ग्याल्पो ल्होसार मनाएको छ ।

हरेक वर्ष हर्षोल्लासका साथ मनाईने लोसार यस वर्ष खरायो वर्गलाई बिदाई गर्दै नयाँ वर्षको रुपमा उड ड्रयागन वर्षलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डेमोक्रेटिक पार्टीको नेता तथा न्यूयोर्क स्टेट डिष्ट्रिक्ट ३० का एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले कार्यक्रमलाई सम्बोधन गर्दै ल्होसारको शुभकामना दिए । राँगाले, न्यूयोर्क राज्यमा ल्होसार मनाउने रिजोलुसन पास गरेको जानकारी दिंदै विविध समुदायसँग ल्होसार मनाउन पाउनु गर्वको कुरा भएको बताए ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष तोरण गुरुङले ल्होसारको शुभकामना व्यक्त गर्दै सबै नेपालीहरुलाई भाषा धर्मले सबैलाई एक ढिक्का बनाएर राखेको तर्क गरे । ”हामीले हाम्रो संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै हामीले राजनीतिक चेतना बढाउँदै जातीय संस्थाहरुलाई बलियो बनाएर लैजानु पर्दछ” फिप्नाका अध्यक्ष गुरुङले भने ।

संस्थाका अध्यक्ष श्रीमती चित्र गुरुङले कार्यक्रम नयाँ वर्ष ल्होसारको शुभकामना दिदैं सम्पूर्ण सहयोगी तथा स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष गुरुङले संस्थाले गएको २० वर्षदेखि सामाजिक काम गरिरहेको जानकारी दिदैं विभिन्न संघ संस्थासँग सहकार्य गर्नका लागि ल्होसार आयोजना गर्दै आएको जानकारी दिए । ”ल्होसार कार्यक्रम हाम्रो भाषा धर्म, संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानको लागि आयोजना गरिएको हो,” अध्यक्ष गुरुङले भने ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, एनिमल भिलेज हस्पिटलका प्रमुख डा. डेनिस् सेराभोलोलगायत सहभागिता रहेको थियो । पहिलो चरणमा शुभकामना आदानप्रदान तथा आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

दोस्रो चरणमा स्थानीय कलाकारहरुले हिमाली भेगमा नाचिने मौलिक तथा विभिन्न साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । स्थानीय कलाकारहरुको प्रस्तुतीलाई दर्शकहरुले प्रशंसा गरेका थिए । नेपालका वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको कोरियोग्राफमा बाल कलाकारहरु तथा युवा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा युवा नृत्य निर्देशिका गौरी लामाको कोरियोग्राफमा युवाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

साथै गुरुङको संस्कृति झल्कने छेवरको बारेमा नाटक मार्फत प्रस्तुति गरेको थिए । करिब तीन सय दर्शकहरुको सहभागिता रहेको ल्होसार कार्यक्रम भब्य र सभ्य उत्कृष्ट रहेको दर्शकहरुले बताए । सन् १९९९ देखि संस्थागत रुपमा दर्ता रही विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको घ्याल्सुम्दो सेवा संस्थामा नेपालको मनाङ जिल्लाको तल्लो भेगमा बसोबास गर्ने समुदायहरु आवद्ध रहेका छन् ।

संस्थामा विशेष गरी दुई गाँउपालिका “चामे” र “नासों” क्षेत्रमा बसोबास गर्ने जनसमुदायहरुलाई घ्याल्सुम्दोबासी भनेर चिनिन्छ । स्थानीय भाषामा “घ्यालम्” भनेको ठुलो बाटो र “सुम्दो” भनेको तिन तिरबाट जोडिएको र समग्रमा तीन तिरबाट जोडिएको ठुलो बाटो भनेर बुझिन्छ । त्यस क्षेत्रका अधिकांश बासिन्दा बौद्ध धर्मालम्वीहरु भएकाले ल्होसार पर्वको ठूलो महत्व रहेको छ । घ्याल्सुम्दो सेवा संस्था अमेरिकामा रहेका नेपाली डायस्पोरामा एक परिचित सामाजिक संस्था हो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ४ : ०७ बजे