१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सात मुलुकले सम्बन्ध तोड्दा कतारलाई झड्का, नेपालीको रोजगार गुम्ने खतरा


२३ जेष्ठ २०७४, मंगलबार  

0
Shares

कतारको अर्थतन्त्रमाथि बादल, नेपालीको रोजगार गुम्ने खतरा –

करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् ।

सातवटै देशले कतारलाई उपलब्ध गराउँदै आएको हवाई मार्ग (एयर स्पेस) पनि बन्द भएको घोषणा गरेका छन् । प्रमुख तेल उत्पादक मुलुकसँग अन्य देशले सबैखाले सम्बन्ध तोडेका हुन् । युएईले आफ्ना देशमा रहेका कतारी कूटनीतिज्ञलाई ४८ घन्टाभित्र देश छाड्न निर्देशन दिएको छ । आफ्ना देशमा भएका कतारी नागरिकलाई स्वदेश फर्कन र कतारमा रहेकालाई आफ्नो देशमा आउन पनि ती देशले आह्वान गरेका छन् ।

अमेरिकी गठबन्धनसँग नजिक रहेका यी राष्ट्रले कतारलाई एक्ल्याएका हुन् । कूटनीतिक सम्बन्ध अन्त्यको अनपेक्षित घोषणासँगै मध्यपूर्वका शक्तिशाली अरबी राष्ट्रहरू एक–आपसमा विभाजित भएका छन् । विभाजनसँगै खाडी मुलुक र इरानबीच कायम तनाव अझ बढ्न सक्ने विश्लेषण गरिएको छ ।

९ वर्षमा पौने १० लाख नेपाली पुगे कतार
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार ०६२-६३ पछि गत आर्थिक वर्ष ०७२-७३ सम्म कामका लागि नेपालबाट नौ लाख ७१ हजार नेपाली कतार गएको उल्लेख छ । तीमध्ये गत वर्ष मात्रै एक लाख २९ हजार नेपाली कतार पुगेको विभागको तथ्यांकमा उल्लेख छ । अहिले पाँच लाख नेपाली त्यहाँ रहेको सरकारी अधिकारीको अनुमान छ ।

कतारमा समस्या हुँदा नेपालको श्रमबजार सबैभन्दा धेरै प्रभावित हुनेछ । कतारमा काम गरिरहेका नेपालीहरू समस्यामा पर्ने सम्भावना छ । कतारको अर्थतन्त्र कमजोर हुँदै जाँदा उनीहरूले रोजगारी गुमाउने र नेपाल फर्कने सम्भावना छ । कतारमा लगानी गरेका विदेशीको कम्पनी वा अन्य देशमा गई लगानी गरेका कतारी कम्पनीको भविष्य अन्योलमा परेपछि निश्चय नै नेपालीहरू प्रभावित हुनेछन् । नेपालबाट कतार जाने तयारीमा रहेका र बिदामा नेपाल फर्किएका कामदार पनि मनोवैज्ञानिक त्रासमा हुनेछन् ।

कतारका व्यवसायीले ती देशमा सञ्चालन गरेको कम्पनीमा नेपाली पनि कार्यरत हुन सक्ने भएकाले नेपालीहरू प्रभावित हुने अनुमान सरकारको छ । यस्तै, कतारले साउदी अरेबियाको बन्दरगाह प्रयोग गरेर व्यापार गर्ने भएकाले त्यस क्षेत्रमा कार्यरत नेपाली प्रभावित हुन सक्ने आँकलन गरिएको छ ।

मलेसियापछिको दोस्रो श्रम गन्तव्य नेपालको विप्रेषणको दोस्रो ठूलो स्रोत कतार हो । ‘कतारमा अन्य देशको तुलनामा कम पारिश्रमिक रहेकाले कामदारको तुलनामा रेमिट्यान्स कम आउँछ,’ रेमिटर्स एसोसिएसनका अध्यक्ष राजगोपाल राजभण्डारीले भने । कतारसँग नेपालको उल्लेखनीय व्यापार छैन । त्यसकारण यो निर्णयले द्विदेशीय व्यापारमा भने असर गर्दैन ।

छिमेकीले सम्बन्धविच्छेद गरेपछि कतारका लागि खाद्य संकटको समस्या पर्न सक्छ । प्राकृतिक र भौगोलिक कारण कतारले खाद्यान्न उत्पादन गर्न सक्दैन । उसलाई खाद्यान्न आयातका लागि साउदी अरेबियाले आफ्नो सिमानाका उपलब्ध गराएको थियो । साउदीको रुट हुँदै कतारमा उपभोग हुने ४० प्रतिशत खाद्यान्न आयात हुने गरेको छ । साउदीले यो ढोका पनि बन्द गरिदिनेछ । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार  ७ : ०६ बजे