७ कार्तिक २०८३, शुक्रबार | Sat Oct 24 2026

अमिताभ बच्चन र दिलजित दोसाँझलाई ज्यान मार्ने धम्की



बलिउडका महानायक अमिताभ बच्चन र चर्चित पन्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझलाई ज्यान मार्ने धम्की आएको छ। मुम्बईका मेयर रितु तावडेलाई पठाइएको एक धम्कीपूर्ण इमेलमार्फत यी दुवै कलाकारलाई निशाना बनाउने चेतावनी दिइएको हो।

भारतीय अनलाइन सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उक्त इमेलमा अमिताभ बच्चनको मुम्बईस्थित प्रसिद्ध बंगला ‘जलसा’मा बम विस्फोट गराउने उल्लेख गरिएको छ। इमेलमा आगामी अक्टोबर ३१ देखि नोभेम्बर २७ को बीचमा जुनसुकै बेला पनि बंगलालाई निशाना बनाइने चेतावनी दिइएको छ। यो सम्भावित हमला सन् १९८४ को ‘अपरेसन ब्लु स्टार’को बदला लिने उद्देश्यले गर्न लागिएको इमेलमा दाबी गरिएको छ।

सोही इमेलमा पन्जाबी गायक दिलजित दोसाँझलाई समेत आत्मघाती हमला गरी ज्यान मार्ने धम्की दिइएको छ।

गम्भीर प्रकृतिको धम्कीपूर्ण इमेल प्राप्त भएलगत्तै मुम्बई प्रहरीले उच्च सतर्कता अपनाउँदै घटनाको तीव्र अनुसन्धान सुरु गरेको छ। मुम्बईमा अभिनेता टाइगर श्राफ सवार कारमा गोली प्रहार भएको घटनाको पाँच दिनपछि नै फेरि दुई ठूला कलाकारलाई यस्तो धम्की आएकाले यस विषयलाई प्रहरीले निकै गम्भीरताका साथ लिएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शुक्रबार  ११ : ३१ बजे