रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण महत्त्वपूर्ण कागजात गुमाएका बाढी प्रभावितहरूलाई काठमाडौँ र नुवाकोटस्थित होल्डिङ सेन्टरहरूबाटै नागरिकताको प्रतिलिपि वितरण गर्ने प्रक्रिया सुरु गरिएको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति हुनुका साथै सर्वसाधारणका नागरिकतालगायतका महत्त्वपूर्ण कागजातहरू हराएका वा नष्ट भएका थिए। नागरिकता नहुँदा राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले बाढीपीडित बसेकै स्थानमा पुगेर यो सेवा दिन थालिएको हो।
जिल्ला प्रशासन कार्यालय रसुवाको समन्वय तथा गोसाइँकुण्ड गाउँपालिकाको विशेष पहलमा काठमाडौँका होल्डिङ सेन्टरहरूबाट नागरिकता प्रतिलिपि वितरण सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जानकारी दिए। अध्यक्ष तामाङका अनुसार होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपिका लागि आवेदन फाराम सङ्कलन गर्ने, जिल्ला प्रशासन कार्यालयमा ल्याएर प्रमाणीकरण तथा प्रिन्ट गर्ने र पुनः होल्डिङ सेन्टरमै लगेर पीडितलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा नागरिकता वितरणलाई तीव्रता दिइएको र आवश्यकताअनुसार अन्य प्रशासनिक सेवा पनि उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।
यसैगरी, नुवाकोटस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडितहरूका लागिसमेत आइतबार रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेसहितको टोली खटिने भएको छ। टोलीले सोही ठाउँमा पुगेर पीडितहरूको अनुसूची टिपोट गर्ने तथा आवश्यक कागजात मिलाएर नागरिकताको प्रतिलिपि उपलब्ध गराउने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।









