७ कार्तिक २०८३, शुक्रबार | Sat Oct 24 2026

कारागारमा गरेको भाकल पूरा गर्न रास्वपा सभापति लामिछाने भारतीय धामतर्फ



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार तीन दिने धार्मिक यात्राका क्रममा पश्चिमी सीमा गड्डाचौकी हुँदै भारत प्रस्थान गरेका छन्।

रास्वपाको नेतृत्वमा सरकार बनेपछि गत १८ जेठमा भारतको पहिलो राजकीय भ्रमण गरेका लामिछाने अचानक पाँच महिनापछि पुनः भारततर्फ लागेपछि राजनीतिक वृत्तमा चासो र चर्चा सुरु भएको छ। यद्यपि, सभापति लामिछानेले भने आफ्नो यो भ्रमण पूर्ण रूपमा व्यक्तिगत तथा धार्मिक प्रकृतिको रहेको स्पष्ट पारेका छन्।

काठमाडौंबाट धनगढी विमानस्थल ओर्लिएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस यात्रालाई राजनीतिसँग नजोड्न आग्रह गरे। आफू कारागारमा रहँदा गरेको भाकल पूरा गर्न पत्नी निकिता पौडेलसहित धार्मिक भ्रमणमा निस्किएको उनले बताए। धनगढी विमानस्थलमा उनले भने, “पहिलादेखि जाने भाकल पनि थियो। मेरो परिवार पनि आध्यात्मिक भएकाले म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो।”

भ्रमणका क्रममा लामिछाने दम्पतीले भारतको उत्तराखण्डस्थित प्रसिद्ध कैँची धाम र आसामको गुवाहाटीमा रहेको कामाख्या मन्दिरको दर्शन तथा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

लामिछानेको प्रमुख गन्तव्य मानिएको कैँची धाम प्रसिद्ध आध्यात्मिक गुरु नीम करोली बाबाको तपोभूमि हो। उत्तर प्रदेशमा जन्मिएका र वास्तविक नाम लक्ष्मण नारायण शर्मा रहेका नीम करोली बाबालाई भगवान् हनुमानका अनन्य भक्तका रूपमा मानिन्छ। कुमाउँ पहाडको भौगोलिक बनावट अनुसार सडकका दुईवटा तीखा घुम्तीहरू कैँचीका दुईवटा पाता जस्तै एकआपसमा काटिएको जस्तो देखिने भएकाले यस ठाउँको नाम ‘कैँची धाम’ रहन गएको हो। सन् १९६४ मा पहिलो हनुमान मन्दिर स्थापना भएसँगै यो क्षेत्र शान्ति, साधना र आस्थाको महत्त्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै आएको छ।

कैँची धाम अन्तर्राष्ट्रिय स्तरमै चर्चित धार्मिक स्थलका रूपमा चिनिन्छ। यहाँ एप्पलका सहसंस्थापक स्टीभ जब्स र फेसबुकका संस्थापक मार्क जुकरवर्गजस्ता विश्वविख्यात व्यक्तित्वहरू आध्यात्मिक मार्गदर्शन र शान्तिको खोजीमा पुगिसकेका छन्। जब्सको सुझावमा जुकरवर्ग सन् २००८ मा फेसबुकको कठिन परिस्थितिमा कैँची धाम पुगेका थिए।

त्यसैगरी, लामिछानेको अर्को धार्मिक गन्तव्य आसामको गुवाहाटीस्थित नीलाचल पहाडमा रहेको कामाख्या मन्दिर हो। हिन्दू धर्मको शक्तिपूजा र तान्त्रिक परम्परामा विशेष महत्त्व राख्ने यो मन्दिर भारतका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक मानिन्छ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शुक्रबार  ११ : ३४ बजे