८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

आत्मालोचनासहित नेकपा गाउँ छिर्दै, दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु



काठमाडौं। विगतमा भएका कमजोरी र गल्तीहरू इमानदारीपूर्वक स्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई महिने ‘राष्ट्रिय जागरण अभियान’मा होमिएको छ। पार्टीभित्र बढेको नेतामुखी तथा केन्द्रमुखी प्रवृत्तिलाई सुधार्दै जनतासँगको सम्बन्ध पुनः प्रगाढ बनाउने उद्देश्यका साथ शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक उद्घाटन गरिएको हो।

अभियानको शुभारम्भ गर्दै नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेताहरूले मात्र समीक्षा गरेर नपुग्ने भन्दै गाउँ-गाउँ र टोल-टोलमा पुगेर जनताकै मुखबाट आलोचना सुन्ने र त्यसलाई आत्मसाथ गर्ने बताए। भाषणबाट नभई व्यवहार र कामबाट जनताको विश्वास जित्नुपर्नेमा जोड दिँदै उनले नेता तथा कार्यकर्तालाई विनम्रतापूर्वक जनताका माझ जान र आफ्ना कमजोरी सच्याउन निर्देशन दिए।

अभियान उद्घाटनका अवसरमा जारी अपिलमा कम्युनिस्ट पार्टीको मुख्य आधार मानिने किसान, मजदुर, गरिब र उत्पीडित वर्गसँगको सम्बन्ध कमजोर हुँदै गएको यथार्थ स्वीकार गरिएको छ। शनिबारदेखि आगामी मंसिर २५ गतेसम्म सञ्चालन हुने यस अभियानमार्फत संगठन विस्तार र सुदृढीकरण, जनसमस्याको अध्ययन, पार्टी रूपान्तरण र समाजवादको आधार तयार पार्ने लक्ष्य नेकपाले लिएको छ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालका अनुसार अभियानका क्रममा केन्द्रीय नेताहरूको नेतृत्वमा टोलीहरू गाउँ, वडा र टोलसम्म पुग्नेछन्। टोलीले देशमा व्याप्त महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा र सार्वजनिक सेवामा हुने ढिलासुस्तीजस्ता जनसरोकारका मुद्दामा नागरिकबाट सुझाव तथा गुनासो संकलन गर्नेछ। संकलित समस्याहरूलाई प्रतिवेदनका रूपमा तयार पारी समाधानका लागि सम्बन्धित सरकारी निकायमा बुझाइने र दबाब दिइने बताइएको छ।

यसैबीच, नेकपाले वर्तमान सरकारबाट जनताले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसकेको निष्कर्ष निकालेको छ। दुईतिहाइको सरकार बने पनि महँगी, बेरोजगारी र युवा पलायन रोकियिन नसकेको, फरक मतप्रति असहिष्णु व्यवहार देखाइएको र लोकतान्त्रिक संस्था एवं नागरिक अधिकारमाथि हस्तक्षेप बढेको आरोप नेकपाले लगाएको छ।

त्यस्तै, नेकपाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षति र बेपत्ता नागरिकको खोज तथा उद्धारमा सरकारले देखाएको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाएको छ। विपद् प्रभावितहरूलाई तत्काल राहत, विस्थापितको पुन:स्थापना र क्षतिग्रस्त पूर्वाधारहरूको शीघ्र पुनर्निर्माण गर्न सरकारसँग माग गरिएको छ।

दुई महिने अभियान अवधिभर विगतको आत्मसमीक्षासँगै पार्टी समायोजनका बाँकी काम टुंग्याउने, सदस्यता नवीकरण तथा अद्यावधिक गर्ने र संगठनलाई जगैदेखि सुदृढ बनाउने योजना नेकपाले बनाएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८३, शनिबार  ११ : ०६ बजे