१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

प्रथम पाँचपोखरी ट्रेल रेसः पुरुष र महिला दुबैमा सोलुखुम्बुको कब्जा


२४ श्रावण २०७४, मंगलबार  

0
Shares

नेत्र तामाङ/पाँचपोखरी

प्रथम पाँचपोखरी पदमार्ग दौड प्रतियोगितामा पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका सुमन कुलुङ पहिलो भएका छन् । साउन २३ गते पाँचपोखरी मेलाको अवसर पारी पवित्र तीर्थस्थल पाँचपोखरीमा आयोजना गरिएको २४ किलोमिटरको ट्रेल दौड कुलुङले २ घन्टा १७ मिनेटमा पुरा गरेका थिए । कुलुङ पर्यटन पथप्रदर्शक हुन् भने यसअघि एभरेस्ट म्याराथुनमा पनि उनले पहिलो स्थान प्राप्त गरेका थिए ।

पुरूषतर्फ पहिलो सुमन र महिला तर्फ पहिलो निरकला कुलुङ ।

त्यसैगरी महिलातर्फ सोलुखुम्बु महाकुलुङकै निरकला कुलुङ पहिलो भइन् । उनले ३ घन्टा ३ मिनेटमा उक्त दुरी पार गरिन् । निरकलाले पहिलोपटक यस्तो प्रतियोतिामा पहिलो स्थान हासिल गरेकाले निकै खुसी लागेको सुनाइन् । पहिलो हुने दुबैले २५ हजार नगद पुरस्कार, मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।

महिलातर्फ प्रथम निरकला कुलुङ ।

समुन्द्री सतहबाट ४०६० मिटरको उचाई पाँचपोखरीबाट ओरालो र डरलाग्दो बाटो हुदैं थाङपालको रैथाने आइपुगी टुंगिएको यस दौडमा पुरुषतर्फ प्युठानका दामोदर बुढामगरले २ घन्टा २६ मिनेटमा दौड पुरा गरी दोस्रो स्थान कायम गरे भने रुपलाल बुढामगरले २ घन्टा २९ मिनेटमा दौड पुरा गरी तेस्रो स्थान कायम गरे । दामोदर र रुपलाल दाजुभाई हुन् । दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरियो ।

महिलातर्फ पूर्णिमा राईले ३ घन्टा ९ मिनेटमा दौड पुरा गरी दोस्रो र रसिला तामाङले ३ घन्टा १६ मिनेटमा दौड पुरा गरी तेस्रो स्थान कायम गरे । दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरियो । दौडमा ७१ पुरुष र महिला १४ गरि ८५ जना सहभागी थिए भने ६७ जनाले निर्धारित ४ घन्टामा दौड पुरा गरे । उक्त दौडमा सबैभन्दा कम उमेरकी भोताङकी १४ बर्षीया सुस्मा तामाङ र जेष्ठ उमेरका थाङपालका ५६ बर्षको गोविन्द सिलवाल सहभागी  थिए ।


विजेतालाई प्रमुख अतिथि एवं पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको काठमाडाैं कार्यक्रम संयोजक यमुना घिमिरेले जानकारी दिइन् । सगरमाथा अारोही एवं पर्यटन व्यवसायी माया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अतिथिमा सगरमाथा आरोही पेम्बा शेर्पा, पहिलो तामाङ महिला सगरमाथा आरोही कान्छीमाया तामाङ उपस्थित थिए ।

दौड प्रतियोगिताले गाउँका युवाहरुमा खेलप्रति रुचि जागेको र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेमा आफु विश्वस्त रहेको गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताए । खेलले पक्कै पनि यस क्षेत्रको प्रचार हुने र पाँचपोखरीलाई विश्वले चिन्ने कार्यक्रम फिल्ड संयोजक मिलन तामाङले बताए । ट्रेल रेसलाइ निरन्तरता दिने उनले जानकारी दिए ।

पाँचपोखरीको पर्यटन प्रवद्र्धनका लागि पाँचपोखरी गाउँपालिकाको सहयोगमा विश्व समावेशी साहसी संस्था, डुखाङ पाँचपोखरी मानम युवा क्लबको संयुक्त आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम सोचेभन्दा राम्रो र उदाहरणीय भएकोमा खुसी लागेको आयोजक संस्था कार्यक्रम संयोजक एवं कार्यक्रमकी अध्यक्ष माया गुरुङले बताइन् ।

 

प्रकाशित मिति : २४ श्रावण २०७४, मंगलबार  ७ : २१ बजे