काठमाडौं । पूर्व प्रहरी उपरीक्षक आनन्द पुरीको “नौ आइजिपीसँगका अनुभूति” पुस्तक यहाँ सार्वजनिक गरियो । भृकुटीमण्डपमा जारी बृहत् पुस्तक प्रदर्शनीमा साहित्यकारहरु माया ठकुरी, हरि अधिकारी र पत्रकार दामोदर न्यौपानेले पुस्तकको लोकार्पण गरे ।
समीक्षक हरि अधिकारीले पुस्तकले प्रहरी सङ्गठनको बिबिध पक्षबारे धेरै कुराहरु खुलाएको बताए । त्यसैगरी पत्रकार दामोदर न्यौपानेले पुस्तक प्रहरीले मात्रै नभै जोकोहिले समेत पढ्नुपर्ने खालको रहेको बताए। आफ्ना भनाइ राख्ने क्रममा लेखक पुरिले प्रहरीलाई निरन्तर कमजोर बनाउदै लगेकाले आफुले पुस्तक लेखेको बताए ।
प्रहरी सङ्गठनमा ३२ वर्ष सेवा गरी निवृत्त भएका पुरीले त्यहाँभित्रका विविध राम्रा र नराम्रा पक्षलाई प्रस्तुत गरिएको छ । तत्कालीन प्रहरी महानिरीक्षकहरुसँगका अनुभूतिलाई समेटेर पुस्तक तयार गरेको प्रकाशक बिएन पुस्तक संसारका सञ्चालक सूर्य बिसीले जानकारी दिए । पुस्तकमा प्रहरी संगठनभित्र विसं. २०४६ पछि भएको राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र विकृतिका विषयहरु पनि समावेश छन् ।