९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

अमेरिका र बेलायतबाट आर्थिक सहयोग


३० आश्विन २०७४, सोमबार  

0
Shares

एभरेष्ट टाईम्स् प्रतिनिधी / काठमाडौ

दुबै मृगौलामा खराबी देखिएका मदन तामाङको उपचारको लागि अमेरिका र बेलायतबाट आर्थिक सहयोग पुगेको छ । काँकु सोलुखुम्बुका २७ बर्षे तामाङलाई अमेरिकामा सँकलन भएको ३ लाख ९ हजार ५ सय १५ रुपैयाँ उनको उपचार भैरहेको भक्तपुर स्थित मानव अँग प्रत्यारोपण केन्द्रमा एभरेष्ट टाईम्सका प्रधान सम्पादक आङ छिरीङ शेर्पाले गत शुक्रबार हस्तान्तरण गरेका थिए । हस्तान्तरणको क्रममा शेर्पाले अमेरिकाका धेरै सहयोगदाताहरुबाट उक्त आर्थिक सहयोग सँकलन भएको जानकारी दिए । उक्त सहयोग रकम न्युयोर्क स्थित लामा एकाउन्टिङ, नेपाल आदिवासी जनजाति महिला महासँघ अमेरिका, वासिङटन डिसी स्थित लाली गुराँस रेस्टुरेन्ट लगायत अन्य ब्यक्तीहरुबाट जम्मा भएको हो । एभरेष्ट टाईम्सका सम्पादक ङिमा पाख्रिनको पहलमा सो रकम सँकलनको भएको थियो ।

बसन्त तामाङलाई सहयोग रकम हस्तान्तरण गर्दै फस्ट एजुकेट नेपाल युकेका प्रतिनिधी टासी लामा तामाङ

त्यस्तै बेलायतबाट फस्ट एजुकेट नेपाल युकेका अध्यक्ष तेन्जी पाख्रीनको सक्रियतामा स्थानिय सहयोगदाताहरुबाट सँकलित २ लाख ४ हजार ९ सय रुपैया आर्थिक सहयोग शुक्रबार नै हस्तान्तरण भयो । फस्ट एजुकेट नेपाल युकेका नेपाल प्रतिनिधी टासी लामा तामाङले उक्त सहयोग रकम जावलाखेल स्थित बिएफबिएस गोर्खा रेडियो स्टेशनमा बिरामीका भाई बसन्त तामाङलाई हस्तान्तरण गरेका थिए । रेडियोबाट उक्त कार्यक्रमलाई लाईभ प्रशारण पनि गरिएको थियो ।

दुई मसिना बालबालिकाका बुबा मदन तामाङको दुईटै मृगौलाले काम नगरे पछि उनी बिगत केहि बर्ष देखि उपचारको क्रममा छन् । उपचारमा संलग्न डाक्टरले मृगौला फेर्नु पर्ने बताएपछि आर्थिक अभावमा त्यो महँगो उपचार बिधी मदनको लागि असम्भव देखिदै गयो । जे जसो होला घरमै होस् भनेर हरेस खाएका आमा बुबाले घरमै फर्काउँन खोजे । तर मदनका दाई राजु र भाई बसन्तले हिम्मत गरेर सहयोगका लागि सबैतिर अनुरोध राखे । यही अनुरोध अनुसार अमेरिका र बेलायतमा सहयोग उठाउँन पहल गरिएका थिए ।

मृगौला दाता भेट्टाएको खण्डमा प्रत्यारोपण आजकल नेपालमै नि:शुल्क हुन्छ । त्यसो त मदनलाई आर्थिक सहयोग किन चाहियो भन्ने सन्दर्भमा मृगौलादाताको लागि ठुलो खर्च भएको राजुले बताए । उनका अनुसार भक्तपुर स्थित मानव अँग प्रत्यारोपण केन्द्रमा मदनको मृगौला प्रत्यारोपण आईतबार सफल्तापुर्वक गरिएको छ । प्रत्यारोपण पछि पनि बिरामीको नियमित फलो अप उपचारमा नियमित खर्च भैरहने उनले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७४, सोमबार  २ : ४५ बजे