एभरेष्ट टाईम्स् / न्युयोर्क
एक नेपाली सहित बिभिन्न देशका पच्चीस आप्रवासीहरुलाई न्युयोर्कमा ‘कुईन्स एम्बासडर पुरस्कार-२०१७’ प्रदान गरिएको छ । सन १९१९ मा न्युयोर्कमा स्थापित टाईम्स लेजर पत्रिकाले उनीहरुलाई उदाहरणीय एवं समुदायमा उल्लेखनीय काम गरे वापत उक्त पुरस्कार प्रदान गरेको हो ।
उक्त पुरस्कार प्राप्त गरेकी नर्बदा क्षेत्री अधिकारकर्मी तथा महिला सामाजिक अभियन्ताको रुपमा परिचित छिन् l अमेरिका स्थित नेपाली आप्रवासीहरुको हक अधिकार र क्षमता अभिवृत्तीको लागि कृयाशील संस्था ‘अधिकार’मा कार्यक्रम तथा सँगठन निर्देशक क्षेत्रीसँग नेपाल लगायत डायस्पोरामा मानव अधिकारको क्षेत्रमा काम गरेको प्रशस्त अनुभव छ । पुरस्कार पाउँदा सम्मानित महसुस भएको र अधिकारको क्षेत्रमा काम गर्न अझ उत्साह बढाएको प्रतिक्रिया क्षेत्रीले दिईन् । “पुरस्कारले उत्साह बढाएको छ”, उनले भनिन्, “काम गर्न अझै धेरै बाँकी छ”।
‘अधिकार’ले न्यूयोर्कका अन्य आप्रवासी कामदार सम्बन्धी कृयाशिल संघ संस्थाहरुसंग मिलेर सन् २०१० जून १ तारिख न्यूयोर्क राज्यको संसदबाट घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गराउन सफल भएको थियो । यसको सकृय नेतृत्व अधिकारकर्मी क्षेत्रीले नै गरेकी थिईन् । न्यूयोर्क राज्यपछि हवाई, क्यालिफोर्निया, मासाचुसेट्स र ईलिनोई राज्यहरुले पनि घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित गरिसकेको छ ।
यसैगरी न्यूयोर्क राज्यबाट सन् २०१५ मा नङ तथा प्रसाधनालय प्राबिधिक कामदारहरुको हक अधिकार सम्बन्धी बिधेयक पारित गराउन सक्नुलाई अधिकारकर्मी क्षेत्रीले ‘अधिकार’को अर्को सफलता र खुशीको कुरा ठान्दछिन् । फलस्वरुप न्यूयोर्क राज्यमा अहिले श्रृंगार तथा नङ पसलमा काम गर्ने बैधानिक कागज भएका या नभएका कुनैपनि कामदारले नेपाली लगायत बिभिन्न भाषामा प्रमाणीकारण र स्तरीकरणको लागि परीक्षा दिन सकिने व्यवस्था छ ।
अन्तराष्ट्रीय श्रम सँगठन (आईएलओ) ले सन २०११ मा घरेलु कामदारको अधिकार प्रत्याभुती (ग्यारेन्टी) गर्दै अन्तराष्ट्रीय कानून पारित गरेको छ । उक्त कानून पारित गराउँन दवाव दिन अमेरिकी प्रतिनिधीहरु सँगै अधिकारकर्मी क्षेत्री पनि जेनेभा पुगेकी थिईन् ।
क्षेत्रीका अनुसार अमेरिकामा घरेलु कामदारहरु २५ लाख भएको र बिश्वभर दुई करोड ५ लाख भएको अनुमान छ ।
अधिकारकर्मी क्षेत्रीलाई यसअघि सन् २०१२ मा पनि न्यूयोर्क शहरको डिस्ट्रिक्ट २५ काउन्सिल सदस्य डानियल ड्रमले ‘इमिग्रेन्ट हेरिटेज अवार्ड’ प्रदान गरेका थिए ।