-ङिमा पाख्रिन / न्युयोर्क
वरिष्ट पप गायक ओम बिक्रम बिष्ट सहयोग साँझ हुने भएको छ । आगामी शनिवार, डिसेम्बर ३० तारिक, न्युयोर्कको ज्याक्सन हाईट स्थित शेर्पा किदुग हलमा हुने कार्यक्रम न्युयोर्कमा बसोवास गर्ने कलाकारहरु मिलेर गर्न लागेको हो । आयोजक मध्येको गायिका सिर्जना स्याङदनका अनुसार सो कार्यक्रममा सपनाश्री, फिरोज स्याङदेन, अभय ढुंगेल, पुनम प्रधान, गीता बिर्लाकोटी, न्हुन्छेमान डंगोल, सिर्जना स्याङदन, बिमल डाँगी, पूूजा न्यौपाने, राम श्रेष्ठ, राजेन्द्र राई लगायतले बिभिन्न नयाँ पुराना गीतहरु प्रस्तुत गर्ने छन् । कार्यक्रममा उपस्थित भएर सक्दो सहयोग गर्दै गायक बिष्टको सिघ्र स्वास्थ्य लाभको कामना गरी दिनु हुन आयोजक कलाकारहरुले सबैसँग आग्रह गरेका छन् ।

कुनै बेला पप सम्राटको उपनामले समेत चिनिएका ६३ बर्षिय गायक ओम बिक्रम बिष्टको दुवै मृगौलामा खराबी देखिएका पछि अहिले उपचारको क्रममा छन् । हप्तामा तीन पटकसम्म डयलोसिस गरी रहेका बिष्टको मृगौला प्रत्यारोपन गर्नु पर्ने चिकित्सकले बताएको उनको पारिवारिक स्रोतबाट थाहा भएको छ । यसको लागि ठुलो खर्चको भार हुने गर्दछ । छोरी जुवाईसँग न्ययोर्कको क्यानजोहोरी शहरमा रहेका बिष्टको डायलसिसको खर्च बीमाले ब्यहोरे पनि औषधीहरु अमेरिकामा अत्यन्तै महँगा हुन्छन्, जुन आफैले किन्नु पर्ने पारिवारिक स्रोतले बताएको छ । अमेरिकामै उपचार गराउने हो भने मृगौला प्रत्यारोपणका लागि कम्तीमा पाँच वर्षसम्म पर्खनुपर्ने हुन्छ । मृगौला दान पाउँना कम्तीमा पाँच वर्ष पर्खनुपर्ने बताएपछि भारत लगेर प्रत्यारोपण गर्ने योजना परिवारले बनाएको छ ।
उपचारमा लाग्ने खर्चका कारण तत्काल भारत जान पनि कठिन हुने बुझिएको छ । लगातार डाइलाइसिस गरिरहेकाले उनलाई लामो यात्रा गर्न मिल्दैन । भारतमै गएर उपचार गर्दा पनि महँगो खर्च पर्न आउँछ । एक्लै जान नमिल्ने भएकोले बिरामी कुरुवा, मृगौला दान गर्ने व्यक्ति र उनका कुरुवा लगायत गरी केहि जनाको टोली नै गएर भारतमा एक महिना जति होटलमा बस्दा, खाँदा र उपचारमा लाग्ने सबै खर्च गर्दा कम्तीमा २५ लाख जति लाग्छ । अहिले यत्रो खर्च जुटाउन निकै अप्ठेरो परेको केहि समय अघि गायक बिष्टले बिएफबिएस गोर्खा रेडियोसँगको कुराकानीमा भनेका थिए । रेडियोका प्रस्तोता बिनोदध्वज खड्कासँग कुरा गर्दै उनले भनेका थिए, ‘मैले कहिल्यै कसैसँग मागेको थिइनँ । अहिले मेरो जीवन बचाउनका निम्ति कसैले माया र श्रध्दाले सहयोग गर्नुहुन्छ भने यस्तो अवस्थामा सबैको सहयोग लिन म बाध्य भएको छु ।’
गायक विष्टको उपचार खर्च जुटाउने उद्देश्यले ‘गो फण्ड मी’ नामक अनलाइन आर्थिक संकलन अभियान पनि सँचालनमा छ । यस मार्फत सहयोग गर्न चहानेले यो लिङ्कबाट गर्न सक्ने छ । https://www.gofundme.com/4aso5fs