१० चैत्र २०८१, सोमबार | Mon Mar 24 2025

किमसँग भेटेपछि ट्रम्पले भने : किम एक प्रतिभाशाली साहसी व्यक्ति


२९ जेष्ठ २०७५, मंगलबार  

0
Shares

PHOTO : BBC

उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देश र जनताका लागि एउटा महत्वपूर्ण कदम चालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ऐतिहासिक शिखर सम्मेलन पछि आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले किमसँगको वार्ताबाट परिवर्तन सम्भव रहेको कुरा पुष्टि गरेको बताएका हुन् ।

यस्तै ट्रम्पले किमलार्इ उपयुक्त समयमा वासिङ्गटन भ्रमणको निम्तो दिने समेत बताएका छन् । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै ट्रम्पले आफू पनि प्योङयाङ जानसक्ने बताए ।

यस्तै अमेरिका र उत्तर कोरियाबीच अब नयाँ इतिहास र सम्बन्धको विकास हुने ट्रम्पको भनाइ थियो ।

उत्तर कोरियाका किमले पूर्ण निशस्त्रीकरणका लागि प्रतिवद्ध रहेको समेत जानकारी ट्रम्पले दिए । किमले मिसाइल इन्जिन टेस्टिङ साइट बन्द गरेको जानकारी गराएको बताए ।

छिटो भन्दा छिटो पूर्ण निशस्त्रीकरणका माध्यमबाट कोरियन प्रायद्वीपमा शान्ति स्थापना हुनेमा ट्रम्पले विश्वास जनाए ।

‘हिजोका झगडाहरुबाट भविष्यमा युद्ध हुन नहुने’ भन्दै ट्रम्पले युद्ध जसले पनि सुरु गर्न सक्ने तर एक साहसी व्यक्तिले मात्र शान्ति ल्याउन सक्ने बताए। ‘२६’ (३४) वर्षको उमेरमा किमले देखाएको साहसको प्रशंसा गर्दै भने, ‘किम एक प्रतिभाशाली साहसी व्यक्ति हुन् ।’

ट्रम्पले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने र कोरियाली जनता एकतावद्ध भइ परिवारहरुको पुर्नमिलनबाट शान्तिको ज्योति फैलिने विश्वास प्रकट गरे ।

धेरैले यो वार्ता हुन सक्दैन भनेर बताएको तर आजको वार्ताले त्यस्ता कुराहरुलार्इ झुटो पुष्टि गरेको बताउँदै ट्रम्पले विश्वकै लागि आजको दिन एक महत्वपूर्ण क्षण भएको बताए । उनले सबैलार्इ बधाइ दिए ।

यो वार्ता सफल बनाउनका लागि चिनियाँ राष्ट्रपति सि जिङ् पिङ्ले देखाएको नेतृत्वको ट्रम्पले खुलेर प्रशंसा गरे। त्यस्तै उनले सिंगापुरले दिएको अतिथ्यताका लागि सबैलार्इ धन्यवाद दिए ।

दक्षिण कोरिया र जापानले उत्तर कोरियालार्इ उपयुक्त सहयोग गर्ने अपेक्षा गरेको बताए। कोरिया फर्केपछि किमले धेरैलार्इ खुसी बनाउने बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार  ४ : ४१ बजे