किरात राई सोसाइटी अफ अमेरिका ( केआरएसए) ले यहि डिसेम्बर २४ मा सुम्निामा साँझ-१० सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । उक्त कार्यक्रममा विल्सन बिक्रम राई ( तक्मे बुढा) को विशेष प्रस्तुति हुने आयोजकले जनाएको छ ।
राई जातिको संस्कृति प्रबर्द्धन गर्ने उदेश्यले केआरएसएले किरात राईहरुको महान चाड उधौली र उभौली पर्वको अवसर पारेर हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । उधौली पर्व र सुम्निमा साँझ मनाउन सुरु गरेको १० वर्ष पुगेको अवसर पारेर यस पटक केआरएसएले सुम्निमा साँझ १० विशेष रुपमा मनाउन लागेको हो ।
उक्त कार्यक्रममा आफ्नो विशेष प्रस्तुति दिन नेपालबाट तक्मे बुढा आउने भएका छन् । उनले सुम्निमा साँझ १० मा सहभागी हुने भन्दै सबैलाई निम्तो गरेर यु ट्युवमा प्रोमो नै सार्बजनिक गरिसकेका छन् । आयोजकका अनुसार सुम्निमा साँझमा तक्मे बुढाले नया प्रस्तुति दिने छन् । ‘तक्मे बुढाले न्यूयोर्कबासी नेपालीलाई अन्त कतै प्रस्तुत नगरेको ताजा कोसेली दिने भएको छ,’ सुम्निमा साँझ १० आयोजक समितिकी संयोजक निला राईले बताइन्, ‘हास्न मन पराउनु हुने सबैलाई कार्यक्रममा स्वागत छ ।’
कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न व्यापक तयारी भइरहेको संयोजक राईले बताइन् ।
‘कार्यक्रम उच्च गुणस्तरको बनाउन स्टेज, माइक, माइक्रोफोन लगायतका कुराहरुमा समेत विशेष ध्यान पुर्याएका छौं,’ उनले भनिन् । केआरएसए न्यूयोर्क च्याप्टरकी अध्यक्ष भारती राईले सुम्निमा साँझ राईहरुको मात्र नभएर न्यूयोर्कमा बस्ने सबै नेपालीहरुको साझा कार्यक्रमका रुपमा स्थापित भएको बताइन् । ‘किरात राई जातिको संस्कृति प्रबर्द्धन गर्ने उदेश्यले सुरु गरिएको सुम्निमा साँझ हाम्रो सिग्नेचर प्रोग्राम हो,’ उनले भनिन्, ‘तर, यो कार्यक्रमलाई सबै नेपाली समुदायले आफ्नै कार्यक्रमको रुपमा लिनुहन्छ ।’
उनले सुम्निमा साँझ साकेला नृत्य र किरात राईहरुको अन्य सांस्कृतिक कार्यक्रमका अतिरिक्त स्थापित कलाकारहरुबाट प्रस्तुति दिदै आएको बताइन् । हरेक वर्ष सुम्निमा साँझ केआरएसएको न्यूयोर्क च्याप्टरले आयोजना गर्छ । जाडो लागेपछि तराई तिर झर्ने र गर्मी लाग्दा पहाडतिर उक्लने राईहरुको पुख्र्यौली परम्परासंग उधौली र उभौली पर्व जोडिएको छ । दुवै पर्वमा साकेला नृत्यको विशेष महत्व छ । यो नृत्य मार्फत प्रकृति पुजक किरात राई जातिहरुले यो संसार र आफ्नो उत्पतिको कथा साथै रहन सहन र जीवन शैली वर्णन गर्छन् । कार्यक्रमबाट उठेको पैसा किरात राईहरुको पवित्र चुल्हाघर माङखिम (किरात सांस्कृतिक भवन) स्थापनामा खर्च गर्ने आयोजकको भनाइ छ । केआरएसले गत वर्ष माङखिम स्थापना गर्न समिति गठन गरि काम अघि बढाएको छ ।