नेत्र तामाङ/मिरिक
अन्तर्राष्ट्रिय तामाङ परिषद्को आयोजनामा चौथो तामाङ सम्मेलन भारतको मिरिकमा सम्पन्न भयो । मिरिकस्थित आहाले मैदानमा मंसिर २८ गतेदेखि चार दिन चलेको सम्मेलनले अखिल भारतीय तामाङ बौद्ध संघका अध्यक्ष केएम तितुङको अध्यक्षतामा १९ सदस्यीय पदाधिकारी चयन गरेको छ । महासचिवमा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले चयन भएका छन् ।
मिरिक बजारदेखि नेपाल तामाङ घेदुङ, भारतीय तामाङ बौद्ध संघलगायतका संघसंस्थाको र्यालीसहित आहाले ग्राउन्डमा पुगेको थियो ।
प्रमुख अतिथि पश्चिम बंगलका पर्यटनमन्त्री गौतम देव र गोर्खाल्यान्डका क्षेत्रीय प्रशासक विनय तामाङले झन्डोत्तलन र लामा गुरुहरुले अष्टमंगल मन्त्रोचरण गरेपछि औपचारिक कार्यक्रम शुरु भएको थियो ।
‘विश्वभरिका तामाङहरू एकजुट होऔं, तामाङ पहिचान र संस्कृति समृद्ध पारौं’ भन्ने नारासहित भएको सम्मेलनलाई अखिल भारतीय बौद्ध संघले व्यवस्थापन पक्ष सम्हालेको थियो भने नेपाल तामाङ घेदुङको विशेष सहयोग गरेको थियो । त्यसैगरी यूरोप, अमेरिका, एसियामा रहेका तामाङ संघसंस्थाहरूले सहयोग गरेको थिए । कार्यक्रमको पूर्व सन्ध्यामा तामाङ सोसाइटी अफ अमेरिकाले पत्रकार सम्मेलन गरी २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । मिरिकमा रहेको होटल जगजितमा सम्मेलन गरी सोसाइटीका अध्यक्ष लक्यान लामाले उक्त घोषणा गरेका हुन् ।
उद्घाटनमा कसले के भने ?
उद्घाटन कार्यक्रमका सभापतित्व परिषद्का निवर्तमान अध्यक्ष महेन्द्रजंग तामाङले सम्हालेका थिए । कार्यक्रममा परिषदका संस्थापक अध्यक्ष पर्शुराम तामाङ, परिषदका सल्लाहकार एवं दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदुत कमानसिंह तामाङ, सामाजिक आन्दोलनका नेता सीताराम तामाङ, तामाङ घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, अखिल तामाङ बौद्ध संघका केएम तितुङ, घेदुङका अध्यक्ष मोहन गोले, मिरिकका मेयर एलबी राई, उपमेयर एमके जिम्बा, तामाङ युथ एसोसिएन वेस्ट बंगालका सञ्जय मोक्तान, तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष लक्यान लामालगायत अतिथिका रुपमा उपस्थिति थिए ।
कार्यक्रमा गोर्खाल्यान्डका क्षेत्रीय प्रशासक विनय तामाङले तामाङ भाषालाई मनपराउनुपर्ने र तामाङ संस्कृतिलाई माया गर्नुपर्ने धारणा राखेका थिए । ‘तामाङले आफ्नो गीतसंगीत र संस्कृति विर्सेको अवस्था छ, यस्तो बेला भावी सन्ततिलाई आफ्नो भाषाको संरक्षण र संस्कृतिको सम्बद्र्धनका लागि गरिएको यो प्रयास साह्रै सरहनीय रहेको छ । नेपाली तामाङ र अंग्रेजी भाषामा आएको शब्दकोषका लेखकले भनेको म बिर्सन सक्दिनँ,’ गमलाको फूलको उदाहरण दिँदै तामाङले भने, ‘जहाँ शिक्षित समूदाय भेटिन्छ त्यहाँ भन्ने गरिन्छ । हामीलाई आफैले आफैलाई माया गरेको पाउदैनौ, आफ्नो घर आँगनलाई माया गरेको पाउदैनौ । हामीले आफुले आफैलाई माया गरौं । आइ लाइक दिस फ्लावर र आइ लभ दिस फ्लावर भनेको उस्तै हो तर केही फरक छन् । आइ लाइक भनेको मनपर्छ भन्नुमात्र हो भने आइ लभ भनेको त्यो फूलमा पानी हाल्ने र रेखदेख गर्ने पनि हो त्यसैले आइ लभ तामाङ भाषा आइ लभ तामाङ कल्चर भन्न सक्नुपर्छ ।’
तामाङहरुलाई भारत वर्षभरि ट्राभल अनुमति नभएको गुनासो राख्दै उनले यसका लागि सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
त्यसैगरी पश्चिम बंगलका पर्यटनमन्त्री गौतम देवले विभिन्न देशबाट आएका तामाङ प्रतिनिधिलाई स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । मुख्यमन्त्री ममता ब्यानरजीको मुख्य उद्देश्य नै जनजातिको संस्कृतिको जगेर्ना गर्नु रहेको उल्लेख गर्दै उनले यस तामाङ जातिको भाषा र संस्कृति जोगाउन पश्चिम बंगाल सरकार लागी पर्ने वचन दिए ।
विधानमा हेरफेर
उद्घाटनकै दोस्रो दिनबाट बन्द सत्र शुरु गर्ने भनिए पनि पहिलो दिनमै बन्द सत्र थालियो । सम्मेलनको बन्दसत्रमा परिषदका निवर्तमान अध्यक्ष महेन्द्रजंग तामाङले प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा परिषद्ले अहिलेसम्म गरेका कार्यहरु, नीतिहरुको बारेमा प्रष्ट पारिएको थियो ।
सन २००२ बाट स्थापना संस्थाले अहिलेसम्मका नेपालमा पहिलो र तेस्रो र भारतमा दोस्रो र चौथौ सम्मेलन गरिएको छ ।
तेस्रो सम्मेलनबाट तामाङ समाजमा सांस्कृति पूनर्जागरणसहितको १० वर्षे अभियान पारित गरिएको थियो । प्रतिवेदनमा गत वर्ष लुम्बिनीमा तीन दिने विश्व बौद्ध सम्मेलनमा संस्थाको तर्फबाट सहभागी भएको थियो ।
त्यसैगरी काठमाडौंमा ३ दिने लिपि र भाषा प्रशिक्षण, दोस्रो सम्मेलनमा भएका निर्णयअनुसार घेदुङ र प्रज्ञा प्रतिष्ठानसँग सहकार्यमा तामाङ शब्दकोष निर्माण तथा प्रकाशन गर्न ७ सदस्यीय निर्देशक समिति गठन गरिएको थियो । तर त्यही अनुरुप प्रतिष्ठानले कार्य नगरेको आरोप प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै बन्दसत्रमा काजीमान तितुङले संस्कार, संस्कृति संशोधन, परशुराम तामाङले आगामी निति तथा कार्यक्रम, खेन्पो सोनाम घ्युर्मेले तामाङ बौद्ध पञ्चांग समितिको मस्यौदा, अधिवक्ता डा. कुन्साङ योञ्जनबाट विधान संशोधन मस्यौदा प्रस्तुत गरेका थिए ।
मस्यौदामाथि प्रतिनिधिहरूले दोस्रो दिनसम्म छलफल गरी अनुमोदन गरेका थिए । मस्यौदा अनुमोदनसँगै सम्मेलन आयोजना गर्ने जुनसुकै देशले अध्यक्ष स्वतः पाउने भएको छ । यसअघि यो सम्मेलन नेपाल र भारतलेमात्र आयोजना गर्दै आएकोमा अब १७ देशले आयोजना गर्न सक्ने भएको छ । योसँगै आगामी सम्मेलन आयोजनामा तानातान हुने देखिएको छ ।
पदाधिकारी निर्विरोध
परिषद्को अध्यक्षमा आयोजक भएकाले अखिल भारतीय तामाङ बौद्ध संघका केएम तितुङ निर्वारोध चुनिए । मंसिर २९ गते शनिबार राति मिरिकमै रहेको सदभावना होटलमा सम्पन्न निर्वाचनमा उनीसहित अन्य पदाधिकारी निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा. कुन्साङ योञ्जनले जानकारी दिए । सम्मेलनबाट परिषद्को वरिष्ठ उपाध्यक्षमा तामाङ घेदुङबाट टासी लामा तामाङ, उपाध्यक्षहरुमा उत्तर–दक्षिण अमेरिकाबाट उत्तर अमेरिका तामाङ समाजका भोजकुमार दोङ, युरोपकोतर्फबाट इजरायल घेदुङका बीबी लामा तामाङ, पूर्वी एसिया तथा अष्ट्रेलियाको तर्फबाट तामाङ समाज जापानका अस्मिता लामा, खाडी तथा मध्ये पूर्वका तर्फबाट बहराइन तामाङ सेवा समाजका सोनाम दोङ तामाङ, दक्षिण एसियाका तर्फबाट घेदुङका कुमार ब्लोन, महिलाबाट घेदुङका मिना तामाङ लुङ्बा चयन भए ।
त्यसैगरी महासचिवमा घेदुङका अध्यक्ष मोहन गोले तामाङ, सचिवमा तामाङ समाज युएईका रबिन कुमार लामा र महिला सचिवमा बेल्जियम तामाङ समाजका गोपीमाया मोक्तान चयन भए भने कोषाध्यक्षमा अखिल भारत तामाङ बौद्ध संघका कमला तामाङ थिङ, सहकोषाध्यक्षमा साईप्रस घेदुङका नानु गोम्जा चयन भए । बाँकी सदस्यहरु भने पछि कार्यसमितिले मनोनयन गर्नेछन् ।
निर्वाचन प्रकृया सकिएपछि निर्वाचन आयुक्त योञ्जनले निर्वाचित सबैलाई तामाङ भाषामा शपथ खुवाएका थिए ।
आहाले मैदानमा रमझम
मिरिकको आहाले ग्राउन्डमा व्यवस्थित रुपमा आयोजना गरिएको कार्यक्रममा तामाङ संस्कृति झल्काउने खाना, पहिरन, सांगीतिक बाजाहरु, किताबहरुसमेत प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीस्थलमा साँझ अबेरसम्म सांगीतिक माहोल जमेको थियो भने चलचित्र प्रदर्शनीसमेत गरिएको थियो ।