सोनाम जाङ्बु शेर्पा पहिलो मिस्टर शेर्पा । डिपास इन्टरनेसनलले गत डिसेम्बर ३० मा आयोजना गरेको प्रतियोगितामा ९ प्रतिस्पर्धी थिए । अरु प्रतिस्पर्धीलाई पछाडि पारेर टाइटल जित्न सफल भए सोनाम ।
सोलुखुम्बु खुम्जुङका उनी शेर्पा भाषा र शेर्पा संस्कृतिको क्षेत्रमा केही गर्ने उद्देश्यका साथ पाइला चालिरहेका छन् । उद्घोषण, गायन र मोडलिङमासमेत आफ्नो यात्रा तय गरिसकेका कारण उनलाई मिस्टर शेर्पाको मञ्चमा थप निखार ल्याउन मद्दत मिल्यो र निर्णायकको मन जित्दै उपाधि जित्यो ।
गाउँकै खुम्जुङ माविमा कक्षा ४ सम्म पढेपछि काठमाडौं आइपुगेका उनले एसएलसी भने नक्सालस्थित दिवा इन्टरनेसनल स्कुलबाट सकाए । हाल उनी सगरमाथा नेसनल कलेजमा बिटेक अध्ययनरत छन् । दुई वर्षअघि शेर्पा भाषाको एल्बम ‘नोर्बु’ ल्याएका उनी थप गीतहरु ल्याउने तयारीमा छन् । उनै गायक, उद्घोषक एवं मिस्टर शेर्पाका विजेता सोनाम जाङ्बु शेर्पासँग एभरेस्ट टाइम्सका लागि नेत्र तामाङले गरेको कुराकानीः
उद्घोषणमा स्टेज कार्यक्रमको अनुभव छँदै थियो, मिस्टर शेर्पाको प्रतिस्पर्धामा नयाँ अनुभव के पाउनुभयो ?
स्टेज वाक नै पहिलो अनुभव थियो । उद्घोषणमा त्यसरी कहाँ हिड्न पाइन्थ्यो र ? अर्को महत्वपूर्ण कुरा भनेको हाम्रो शेर्पाको छुबा लगाएर हिँड्न पाएँ । यो क्षण एकदम खुसी लागेको थियो । पहिलो मिस्टर शेर्पा बन्नुको आनन्द बेग्लै छँदै छ ।
पहिलो मिस्टर शेर्पा बन्नुभयो, बलियो दाबेदारी कसरी पेश गर्नुभयो ?
मैले शेर्पा भाषा राम्रोसँग बेल्छु भनें । अर्को कुरा यही भाषामा गीत गाएको छु भने । यही नै मेरो लागि प्लस प्वाइन्ट भयो जस्तो लाग्छ । नत्र सबै साथीहरु एकसेएक हुनु हुन्थ्यो ।
शेर्पा गीत कहिलेदेखि गाउन थाल्नुभयो ?
धेरै भएको छैन । पहिलो एल्बम नोर्बु २०१७ अगस्टमा ल्याए । सातवटा गीत छन् । अब आउने अप्रिलसम्ममा २ वटा गीत ल्याउने तयारीमा छु ।
नेपाली गीतको बजार ठुलो छ, श्रोतादर्शक पनि धेरै छन्, नेपाली गीतमा रुचि छैन ?
अहिले शेर्पा गीतलाई नै प्राथमिकतामा राखेको छु । नेपाली गीत भन्दा पनि नेपाली धुनमा शेर्पा गीत गाउने मन छ ।
शेर्पा भाषामै लगाव कसरी बढ्यो तपाईको ?
अहिले शेर्पाहरु विश्वभर छरिएका छन् । कामको सिलसिलामा धेरैले भाषा बिर्सन थालेका छन् । यसको सिकार म आफै पनि हुँ । गाउँ छाडेपछि भाषा बिर्सेको थिएँ । पछि बल्ल बल्ल रिकभर गरें । अनि, आफ्नो भाषा मर्न दिनुहुन्न भनेर लागेको हुँ । अहिले युवाहरु गितार बिना गीत गाउन सक्दैनन् । हामीले हाम्रो टुङ्ना बजाउन बिर्सनुहुन्न । शेर्पा गीत र टुङ्नाले नै हामीलाई संस्कृति सिकाउँछ । यी कुराहरुले नै हाम्रो संस्कार संवर्द्धन हुन्छ । प्रवर्द्धन हुन्छ ।
गायन, उद्घोषण, पढाई यी सबैलाई कसरी साथसाथ लानुहुन्छ ?
म स्ट्रेसमै काम गर्न रुचाउँछु । क्यालेन्डर बनाएको छु । सबै कामहरु मिलाएर गर्नुपर्छ । गायन, उद्घोषण र पढाईको साथमा म काम पनि गर्छु । ठमेलमा अउटडोर एन्भन्चर सेन्टर छ । यहाँ प्रोग्राम अफिसरको जिम्मेवारीमा छु । साथमा बौद्धमा शेर्पा इभेन्ट छ । यसबाट पनि कामहरु गर्छु ।
यी दुई ठाउँमा के कस्ता जिम्मेवारी निभाउनुपर्छ ?
बौद्धमा रहेको शेर्पा इभेन्टमा शेर्पा म्युजिक भिडियो बनाउने काम हुन्छ । यता ठमेलमा रहेको एडभन्चर सेन्टरमा स्कुल लेभल र कलेज लेभलका विद्यार्थीहरुलाई पर्वतारोहण सिकाउने ठाउँ हो । यहाँ इभेन्ट हल, लाइब्रेरी पनि बनिरहेको छ । यसैमा प्रोग्राम सेट गर्ने हो ।
मिस्टर शेर्पा बन्नुभयो, यति धेरै ठाउँहरुमा हात हाल्नुभएको छ, अबको योजनाहरु पनि छन् कि ?
मेरो अहिलेको पेशा गायन, उद्घोषण र मोडलिङ हो । पढाइसँगै कामहरु पनि गर्दैछु । सँगसँगै अब के बन्ने भन्ने पनि योजना बनाएको छु । बुवाआमाको साथले यहाँसम्म आइपुगेको छु । अबका दिनमा पर्वतारोहण क्षेत्रलाई कसरी अझ सुरक्षित बनाउने यस विषयमा काम गर्नेछु र यही क्षेत्रमा उद्यमी बन्नेछु ।