६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

‘मिठा र राम्रा कुरा गरेर हुँदैन, समृद्ध नेपालको निम्ती विदेशी लगानी नै भित्राउनु पर्छ’, : डा.रामशरण महत


७ चैत्र २०७५, बिहिबार  

0
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको बताएका छन् ।

बिहीबार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता महतले नेपालमा अहिले लगानी सम्मेलन गर्नु पर्ने उल्लेख गर्दै भने, ‘विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गर्नुभएको थियो । तर, अहिलेको सरकार किन चुक्दैछ?’

‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उहाँले उद्धार आर्थिक नीति ल्याउनुभयो । बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ ।’ उनले थपे, ‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी नै आवश्यक छ ।’

उनले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो नभएको प्रष्टपारे । भने, ‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको छ ।’

डा. महतले विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने पनि सुझाव दिए ।

‘औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको छ ।’ उनले भने,‘उद्योग–धन्धा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ । यी सबै कुराहरु अब व्यवहारिक रुपमा लागु गर्नुपर्छ । मिठा र राम्रा कुरा मात्र गरेर हुँदैन, समृद्धि नेपालको निम्ती विदेशी लगानी नै भित्राउन पर्छ ।’

महतले पाईला–पाईलामा भ्रष्टाचार व्याप्त रहेको पनि औलाए । उनले भने,‘सरकारले पहिलो कुरा सुशासन कायम गर्नुपर्छ, अहिलेपनि सरकारले दिने सुविधा लिनै मुश्किल छ। कानून बनाएरमात्रै हुँदैन्, कार्यान्वयनमा जानुपर्छ ।’

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  ६ : ०० बजे