६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

न्युयोर्कमा जीपी कोइराला फाउन्डेसनको कार्यालय स्थापना


२० चैत्र २०७५, बुधबार  

0
Shares

न्युयोर्क । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालको नाममा स्थापना गरिएको जीपी कोइराला फाउन्डेसन अमेरिकाले ज्याक्सनहाइटको ७२—२४ ब्रोडवेको तेस्रो तल्लामा कार्यालय स्थापना गरिएको छ ।

सन् १९७६ को जुन १३ मा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले भारतको मुम्बईको मुलुन्दमा स्थापना गरेको प्रथम जनसम्पर्क समितिका संस्थापक सदस्य मोहनसिंह विष्टले उक्त कार्यालयको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले नेपाल र नेपाली जनताका लागि नेपाली काँग्रेसले गरेको योगदानको चर्चा गरेका थिए । पूर्व प्रधानमन्त्रीको नाममा स्थापना भएको फाउन्डेसनले राम्रो काम गर्न लागेकाले सबैले यसलाई सहयोग गरी सफल बनाउन विष्टले सबैलाई आह्वान गरेका थिए ।

हालै स्थापना गरिएको उक्त जीपी कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले फाउन्डेसनको उद्देश्यमाथि प्रकाश पारेका थिए । घिमिरेले अमेरिकामा नेपालीभन्दा पछि आएका विभिन्न समुदायले राज्यको विभिन्न तहमा पुगी सुविधा लिएको तर नेपालीले केही गर्न नसकेकोमा दुःख व्यक्त गरेका थिए । अब यो अवस्थाबाट पार भई नेपालीहरुका लागि यो फाउन्डेसनले केही गर्न लागेको छ भन्दै यसका लागि सबैको सहयोग र सुझावको खाचो भएको बताएका थिए । त्यस्तै कार्यक्रममा सस्थाको लक्ष्य उद्देश्यसँगै आगामी योजनाहरुको बारेमा महासचिव सुरेन सापकोटाले जानकारी दिएका थिए ।

फाउन्डेसनले अमेरिकामा बसेका नेपालीहरुको अध्यागमन समस्याको समधान गर्न निःशुल्क रुपमा काम गर्ने, निःशुल्क औषधि उपचारको सहयोग गर्ने, शिक्षामा निःशुल्क सेवा गर्ने कुरा पनि उनले स्पष्ट गरेका थिए ।

कार्यक्रममा जनसम्पर्क समितिका महासचिव मुनिन्द्र नेम्वाङ, समितिको न्युयोर्क च्याप्टरका महासचिव महेश मल्ल, आदिवासी महिला महासंघका अध्यक्ष संगीनी राना मगर, युएस नेपाल स्पोर्टसका अध्यक्ष मोहन वाइवा, फाउण्डेसनकी कोषाध्यक्ष बृन्दा राई, सहकोषाध्यक्ष पुनम रानामगर, सुमन हुमागाई, केन्द्रीय सदस्यहरु श्याम कार्की र शारदा क्षेत्रीले फाउन्डेसनबारे मन्तब्य दिएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ३८ बजे