९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

एनपीएल एक सय करोडको करोबार हुने अपेक्षा



त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा भोलिदेखि सुरु हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो।

यस संस्करणको एनपीएलमा क्यानले करिब २० करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रतियोगिताका दौरान प्रायोजकबाट ३० करोड र टिकेटिङबाट ७० करोड रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ, भने फ्रेन्चाइज टोलीहरूसहित कुल कारोबार १ सय करोड रुपैयाँभन्दा बढी हुने दाबी गरिएको छ।

प्रतियोगिताको पुरस्कार राशितर्फ यसपटकको विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। त्यसैगरी, दोस्रो हुने टोलीले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउने गरी व्यवस्था मिलाइएको छ।

यसैबीच क्यान अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलका अघिल्ला दुई संस्करणको अडिट रिपोर्ट बोर्ड बैठकबाट पारित गराई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मा पठाइसकिएको स्पष्ट पारे । पत्रकार सम्मेलनमा बोल्दै क्यान सचिव पारस खड्काले एनपीएलको आर्थिक गतिविधि र हिसाबकिताब पूर्ण रूपमा पारदर्शी रहेको दाबी गरे । नेपालका अन्य खेल संघहरूभन्दा क्यान बढी पारदर्शी रहेको उल्लेख गर्दै उहाँले सम्बद्ध हिसाबकिताब राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयमा बुझाइसकिएको जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, आइतबार  ९ : ०६ बजे