२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

ज्याक्सन हाइटमा एसएन ज्वेलर्स, नेपाली डिजाइनका गहना पाइने


२० चैत्र २०७५, बुधबार  

4
Shares

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइट दक्षिण एसियाली समुदायहरुको घनाबस्तीको रुपमा चिनिन्छ । यो शहरमा नेपालीहरुको बढ्दो जनसंख्यासँगै व्यापार व्यवसाय पनि बढ्न थालेको छ । ज्याक्सन हाइटमा विभिन्न व्यवसायहरुसँगै गहना पसल पनि खुलेको थियो ।
सन् १९९९ मा न्युयोर्कमा खोलिएको एसएन बज्र ज्वेलर्स नामले चिनिएको यो पसल यही मार्चबाट नयाँ स्थानमा सरेको छ । प्रेम गोपाल मर्हजन र सशिता महर्जनले खोलेको यो पसल डेलिहाइट रेस्टुरेन्टको माथिल्लो तल्लामा सरेको हो । उनीहरुले खोलेको यो गहना पसलमा नेपाली डिजाइनका सुन चाँदी र हीराका विभिन्न गहनाहरु राखिएका छन् ।

नेपालीहरुले लगाउने सबै किसिमको गहना यही उपलब्ध हुने भएकोले नेपालबाट झिकाउन नपर्ने र यही कालिगढले बनाउँदै आएको प्रेम गोपालले बताए । ‘अमेरिकाबासी नेपालीहरुको भावना अनुरुपको हरेक किसिमको गहना सुपथ मुल्यमा उपलब्ध गराउँदै आएको छु,’ सञ्चालक प्रेम गोपालले भने, ‘ग्राहकको माग बमोजिम हामीले ग्राहकले भनेको समयमा उपलब्ध गराउँदै आएका छौ ।’

ग्राहकले दिएको अर्डरबमोजिमको गहना तयार हुने सशिताले बताइन् । ‘नेपाली मौलिक संस्कृति अनुरुप हरेक जातीय पहिचानका लागि र मेलापर्वमा लगाउने सबैखाले गहना हामीले आकर्षक डिजाइनमा बनाउँदै आएका छौ’ सशिताले भनिन्, ‘हामी ग्राहकले दिएको जुनै अर्डर अनुसारको नयाँ नयाँ गरहना पनि बनाइदिँदै आएका छौ ।’ केही समय सिटी बैंक अगाडि रहेको उनीहरुको पसल सर्ने दिन नेपाली समुदायका प्रतिनिधिहरु पसलमा घुइँचो लागेका थियो । पसलमा आउनेहरुले खादा र सगुनले उनीहरुलाई सफलताको शुभकामना दिए । अतिथिहरुलाई पनि प्रेम र सशिताले नेवारी खाना परिकारले र सगुनले स्वागत गरेका थिए ।

काठमाडौंमा सानैदेखि हस्तकला र सुनचाँदीको काम गर्दै आएका प्रेम गोपालले काठमाडौंपछि विदेशमा पनि व्यवसाय विस्तारमा लागे । सन् १९८७ देखि जापानमा पनि सुनचाँदी र हस्तकलाको पसल खोलेका उनले सन् १९९५ मा सशिता महर्जनसित विवाह गरी दुवै जनाले यही पेशालाई निरन्तरता दिँदै आएका हुन् । सन् १९८७ देखि १९९८ सम्म जापानमा व्यवसाय गरी सन् १९९८ मा अमेरिका आएर सन् १९९९ देखि न्युयोर्कमा उनीहरुले गहनाको व्यवसाय शुरु गरेका हुन् ।

अमेरिकाको न्युयोर्क आउने वितिकै यी दम्पत्तीले शुरुमा म्यानह्टनको रक्कोफेलर सेन्टरमा व्यवसाय शुरु गरी हाल ज्याक्सन हाइटको ३७—६६— ७४ औं स्टिटको दोस्रो तल्लामा पसल सञ्चालन गरेका छन् । पसलमा सुनचाँदीलगायत बुद्धका विभिन्न मूर्ति तथा हस्तकलाका सामानहरु राखिएको सशिता महर्जनले बताइन् । उनका अनुसार नेपाली गहना र हस्तकलाप्रति नेपालीको साथै विदेशीहरुको पनि चासो बढेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ४९ बजे