७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नेपालीको आयस्रोत बढाउने कार्यक्रम मेरो कार्यकालमा ल्याइनेछ : सञ्जय थापा


६ बैशाख २०७६, शुक्रबार  

0
Shares

काठमाडौको तत्कालिन गोकर्णेश्वर गाउपालिकामा जन्मेका सन्जय थापा न्युयोर्कमा रेडिमेड कंक्रिट उत्पादन गर्ने क्वालिटि कन्ट्रोलर हुन । नेपालमा आनन्दाकुटी बोडिङ स्कुलबाट हाइस्कुल सके लगतै अमृत साइन्स कलेजबाट आइएसि र त्यसपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जियिरिङ गरेका थिए । त्यसपछि भारत पुन इन्जिनियरिङ अध्ययनपछि नेपालमा केही समयको जागीरे जीवनपछि सन २००७ मा लाइन्स क्लबको कार्यक्रमको सिलसिलामा अमेरिकामा आएका हुन । अमेरिकामा आएपछि इन्जिनियरिङ सम्बन्धीत अध्ययन र कार्यसंगै न्युयोर्कको अग्लो भवनको क्वालिटि कन्ट्रोलरको काम गरिरहेका छन । नेपालमा जिल्ला विकास समितिका सदस्यको रुपमा कार्य गरेका उनी अमेरिकामा सस्थागत रुपमा प्रवासी नेपाली मञ्चको पुर्व अध्यक्ष हुन । गैरआवासीय नेपाली संघ(एनआरएनए), अमेरिकाको आगामी नेतृत्वको लागि सञ्जय थापाले उम्मेदवारी दिएका छन् । पेशाले इन्जिनियर हुन् उनी एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर हुन् । न्युयोर्क निवासी उनी यतिखेर मतदातामाझ भोट माग्न व्यस्त छन् । नेतृत्वकै लागि थापाले करिब एक महिनाअघि नै न्युयोर्कमा पत्रकार सम्मेलन गरी उमेद्वार घोषणा गरेका थिए । आगामी निर्वाचनमा उनको योजना कस्ता छन्, उनलाई नै एनआरएनए अमेरिकाको अध्यक्षमा किन छान्ने भन्ने विषयमा एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले गरेको कुराकानी:

कसरी लाग्नु भयो एनआरएनएमा ?
सन् २०११ मा न्युयोर्कमा एनआरएनको पहिलो पटक भएको साधारण सभामा मैले सदस्य लिएँ । त्यसपछि सन् २०१४ देखि प्रत्यक्ष रुपमा लाग्दै आएँ । गत निर्वाचनमा बोर्ड अफ डाइरेक्टरको रुपमा सबैभन्दा बढी मत ल्याएर चुनिए र कार्यसमितिमै बसेर काम गर्ने मौका मिल्यो ।

आफ्नो कार्यकालमा के के गर्नु भयो ?
यो कार्यकालमा मैले तीन किसिमको जिम्मेवारी पुरा गरें । कार्यसमितिमा हामीबीच तालमेल नमिले पनि मैले निभाउनु पर्ने जिम्मेवारी पुरा गरें । म विधान समितिको संयोजक भएर सदस्य वितरणमा भएको विवाद कम गर्न तथा कडाइका साथ सदस्य बनाउन आइडी प्रणाली मेरै पहलमा भएको हो । मैले फरक मतको रुपमा प्रत्यक्ष निर्वाचनको प्रस्ताव पनि अघि सारेको थिएँ, तर मतदानमा अस्वीकार भयो । अमेरिकाको विभिन्न च्याप्टरहरुमा हेल्प डेस्कमार्फत सहयोग गर्ने सोचअनुसार मैले संयोजकको भुमिका निभाएँ । त्यस्तै सरकारी संयोजन समितिको संयोजक भएपछि अमेरिकामा एम्बेसीमा आएर पासपोर्ट बनाउने कुरामा हामीले टाढाका नेपालीलाई कन्सुलेट सेवा उपलब्ध गराउने भन्ने माग ग¥यौ । त्यस्तै नेपालमा राजनीतिक अधिकार बाहेकको नागरिकताका लागि मेरै संयोजनमा नेपालमा सरकारका प्रमुख, विभिन्न राजनीतिक दलका प्रमुखलाई भेटेर ध्यानाकर्षण गरायौ ।

तपाई संयोजक भएर नजानु भएको भए के हुन्थ्यो ?
यदि म संयोजक नभएको भए सायद अमेरिकामा भएका नेपालीले नेपालको नागरिकता पाउने थिएन । विदेशमा नागरिकता लिँदा नेपाली नागरिकता त्यागेको प्रमाण दिनुपथ्र्यो । तर अमेरिकाको सिस्टम फरक भएकोले नागरिकता बुझाउनु पर्दैन भनेर हामीले नागरिकता विधेयक संशोधन समितिदेखि राजनीतिक नेतृत्वलाई बुझायौ । हामीसँग नेपाली नागरिकता छ, तर यो अमेरिकालाई बुझाएको छैन । यसलाई हटाएर एनआरएन नागरिकता देउ भनेको हो । हामीले नेकपा र कांग्रेसका नेताहरुसँग बेग्लाबेग्लै बसेर छलफल गरी कन्भिन्स गरायौ । दुबैपक्षका सांसदहरुले संशोधन प्रस्ताव राखिसकेपछि हामी ढुक्का भयौ । प्रक्रियामा मात्र अलि लामो होला तर हालै उपप्रधानमन्त्री र पूर्व प्रधानमन्त्रिसँगको भेटमा पनि मैले यस विषय सम्झाएको छु ।

एनआरएनले सम्पत्ति नेपालमा रहेको गुमाउने भन्ने कुरा पनि आएको थियो नि ?
एउटा व्यक्तिले वंशजको नागरिकता पनि लिने अनि अर्को चै दोहोरो नागरिकता पनि राखेमा के कस्ता कारवाही हुने विषयमा छलफल भएको थियो । यस विषयमा केही सञ्चारमाध्ययमले भ्रम फैलाउने काम भयो । तर यो दुई दिन पनि टिकेन । कतिपयले मविरुद्ध प्रयोग गर्न सक्छ की भनेर गरेका थिए । हामीले गएर राखेको ७ वटा प्रस्ताव अनुसार संविधानमै एनआरएनले नागरिकता पाउने भनेर उल्लेख गरिसकेपछि राजनीति गर्नेबाहेक सबै अधिकार सहितको एनआरएन नागरिकता पाउने पक्का हो । सम्पत्ति गुमाउने होइन, आनन्दले राख्न पाइन्छ ।

अध्यक्ष बन्छु भन्ने योजना कहिलेदेखिको हो ?
म एनआरएनएमा अध्यक्ष उठ्छु भन्ने त सदस्य भएको दिनदेखिकै योजना हो । कुनै सिपाहीले सिपाहीमा जागिर खाएर कुनै दिन कमान्डर इन चिफ बन्ने सपना देखे जस्तै मैले पनि त्यही देखेको हुँ । यसपालीको निर्वाचन अभियान शुरु भएसँग म अध्यक्षको उम्मेदवारको रुपमा घोषित रुपमा लागेको हुँ ।

तपाईलाई अध्यक्षमा किन चुन्ने ?
३ वटा कुराहरु मेरो कार्यकालमा गर्नुपर्छ । पहिलो कुरा संस्थाको संस्थागत विकास भएको छैन । अहिले संस्थामा व्यक्ति हावी भएकोले व्यक्तिभन्दा संस्था ठुलो हो है भनेर सबैले खोजी खोजी सदस्य बनाउने वातवारण बनाउने सोच बनाएको छु । अमेरिकामा रहेका नेपालीहरुलाई आयस्रोत वृद्धिको प्रविधिक शिक्षा वा पोलिटेक्निकल इन्स्टिच्युट खोलेर रोजगारी सिर्जना गर्ने योजना बनाएको छु । त्यस्तै अमेरिकामा रहेका जतिपनि सामाजिक संस्थाहरु ती संस्थाहरुको केन्द्रस्तरमा रहेकोलाई केन्द्रीय सल्लाहकार र राज्यस्तरमा खोलिएकोलाई राज्यस्तरमा सल्लाहकार बनाउने योजना बनाएको छु । मैले जितेमा सबै च्याप्टरलाई एकरुपतामा ल्याइ सबै काम च्याप्टरबाटै गराउँछु ।

मतदातालाई के भन्नुहुन्छ ?
यही कम्युनिटीमा केही गर्नुपर्छ भनेर म एनआरएनएमा आएको हुँ । प्रवासी नेपाली र नेपालको समृद्धिका लागि । म सँग योजनाहरु छन्, सबैबाट सहयोग पाएमा त्यो सफल हुनेछ भन्नेमा विश्वस्त छु ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ९ : ०१ बजे