तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका बरिष्ठ कलाकार कृष्णमान तुलाधरको स्मृतिमा न्युयोर्कमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरियो । सत्यनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जलि सभामा डा. कमल पाण्डेले मुलुकले कृष्णमान तुलाधरजस्तो बरिष्ठ कलाकार गुमाउदा अपुरणीय क्षति भएको भन्दै उहाको जीवनीवारे चर्चा गरेका थिए ।
सभामा पत्रकार बीके नेवा,कलाकार राजकपुर,कवियत्री अनिता थापा, कवियत्री कमला प्रसाईं र दिलिप श्रेष्ठले उहाको जीवनी र व्यक्तित्वबारे प्रकाश पारेका थिए । सभामा बरिष्ठ कलाकार सपनाश्री, राजकपुर, गोमा गुरुङ र अभय ढुङगेलले भक्ति गीत गाएका थिए ।
स्व. कृष्णमान तुलाधरकी धर्मपत्नी प्रतिमा तुलाधरको उपस्थिति रहेको उक्त सभाको सञ्चालन बरिष्ठ कलाकार न्हुच्छेनारायण डंगोलले गरेका थिए भने व्यवस्थापन कवियत्री अनिता थापाले गरेका थिए । सभामा कलाकार , समाजसेवी तथा सर्वसाधारणको सहभागिता थिए । वरिष्ठ कलाकार तुलाधरको गत मे ११ मा निधन भएको थियो । नेपालका सबै जिल्लाको लोक नृत्यका ज्ञाताको रुपमा चिनिएका तुलाधरले मालती मंगले लगायत विभिन्न नाटकमा अभिनय गरेका थिए ।