१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

सिन्धुको पर्यटन वर्ष गीतमा प्रेमध्वज प्रधान र चन्द्रसिंहको स्वर, शब्द किशोर बुढाथोकिको [भिडियो]


३१ असार २०७६, मंगलबार  

2
Shares

चौतारा । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष सन् २०२० लक्षित सिन्धुपाल्चोक चिनाउने गीति बृत्तचित्र सार्वजनिक भएको छ । पर्यटन वर्षमा सिन्धुपाल्चोकमा धेरै पर्यटक भित्र्याउने उद्धेश्यले जिल्लाको सञ्चारमाध्यम ओखरेनी साप्ताहिकले निर्माण गरेको गीति बृत्तचित्र जय जन्मभूमि जय सिन्धुभूमि यूट्युबमार्फत सार्वजनिक भएको हो ।

शब्द र दृष्यमार्फत जिल्लाका प्रमुख पर्यटकीय स्थलको प्रचार गरिएको बृत्तचित्र एसियन म्युजिकले बजारमा ल्याएकोे छ । चर्चित अग्रज गायक तथा संगीतकार प्रेमध्वज प्रधानका साथै चन्द्रसिं घले र मिना सिंहले सो वृत्तचित्रको गीतमा स्वर भरेका छन् । सञ्चारकर्मी किशोर बुढाथोकीको शब्दमा चन्द्रसिंले संगीत भरेका हुन् । एक साता लगाएर गीति बृत्तचित्रका लागि दृष्य कैद गरिएको भिडियोको सम्पादन उत्तर रानामगरले गरेका छन् । सन्तोष दाहालले खिचेको ड्रोनमा मिलन शंकरले क्यामेराका साथै र बृत्तचित्रको निर्देशन गरेका हुन् ।

सरकारले घोषणा गरेको पर्यटन वर्षमा सञ्चारमाध्यमको तर्फबाट आफ्नो जिल्लाको प्रचारका लागि गीति बृत्तचित्र निर्माण गरिएको ओखरेनी साप्ताहिकका प्रकाशक सम्पादक अमित घिमिरेले जानकारी दिए । ‘जिल्लाको चिनारीका लागि यो सानो प्रयास हो,’ अमितले भने, ‘सरकारलाई साथ दिदैं आफ्नो पनि कर्तव्य भएकाले बृत्तचित्र निर्माण गरेका छौं ।’ उनले पर्यटन वर्षमा सिन्धुपाल्चोकमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि जिल्लाको सुन्दर तथा ऐतिहासिक पक्षहरुलाई दृष्यमा समावेश गरिएको बताए ।

दृष्यमा हालै पहिलोपटक सफल आरोहण भएको जुगल हिमश्रृंखलादेखि पाँचपोखरी, आमायांग्री, नौलिंगेश्वर महादेव, ओखरेनी, लिस्तीमाई, तौंथली त्रिपुरासुन्दरी, इन्द्रावती तीर, भीमटारको फाँट, भोटेकोशी र्‍याफ्टिङलगायत समावेश छन् । सिन्धुपाल्चोक विभिन्न जातजातिको संस्कृति झल्काउने स्थानसमेत भएको पहिचान र संस्कृतिसमेत समावेश गरिएको ओखरेनीले जनाएको छ । दृष्यमा तामाङ, नेवार, शेर्पा, घलेलगायतको संस्कृति उजागर गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक बजार तातोपानी, बाह्रविसे, मेलम्ची, चौतारासहित सीमा गाउँ वनदेउकोसमेत दृष्य समेटिएको छ । सौन्दर्य झल्काउने विविध स्थानका साथै जिल्लाका साहित्यकार, पत्रकार, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्थानीयवासीलाई पनि दृष्यमा देख्न सकिन्छ ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ९ : २९ बजे