४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

नेपालमा चिनियाँ विदेशमन्त्री वाङ : नेपाल र चीनबीच तीनवटा सम्झौता


२३ भाद्र २०७६, सोमबार  

0
Shares

काठमाडौं । नेपाल र चीनबीच आपसी सहयोगका तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँमा आइतबार भएको चीनका विदेशमन्त्री वाङ यी तथा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको भेटवार्ता लगत्तै तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई देशका मन्त्रीको उपस्थितिमा हस्ताक्षर भएको उक्त सम्झौतापत्र एक आपसमा साटासाट गरिएको थियो ।

मनाङमा अस्पताल

मनाङमा चीनको सहयोगमा अस्पताल निर्माण परियोजनाको सम्झौतापत्रमा ‘चाइना इन्टरनेसनल कोअपरेसन एजेन्सी’का उपाध्यक्ष बेङ ओ चेङ र नेपालका अर्थ सचिव डा. राजन खनालले हस्ताक्षर गरे ।

आपतकालका लागि त्रिपाल

त्यसैगरी, उनीहरुले नै आपतकालीन विपदका लागि चीनले पाँच हजार थान त्रिपाल लगायतका सामग्री सहयोग प्रदान गर्ने लगायतका कागजपत्र आदानप्रदान गरे ।

चिनियाँ भाषाको अध्यापन

त्यस्तै, नेपालस्थित चिनियाँ राजदूत हाउयाङ सी र शिक्षा मन्त्रालयका सचिव महेश दाहालले आपसी सहमतिमा नेपालस्थित शैक्षिक प्रतिष्ठानमा चिनियाँ स्वयंसेवीले चिनियाँ भाषाको अध्यापन गर्न पाउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उच्चस्तरीय भेटवार्तामा दुई देशका सम्बन्ध फराकिलो बनाउन बीआरआई परियोजनाको कार्यान्वयनमा तीब्रता दिने, चीनले नेपाललाई दिने आर्थिक सहयोग वृद्धि गर्ने तथा सम्पदा संरक्षणमा भूमिका निर्वाह गर्ने विषयमा थप पहल गर्ने विषयमा छलफल भएको थियो ।

राजधानीको याक एन्ड यति होटलमा करिब डेढ घण्टा चलेको वार्तामा दुबै देशका प्रतिनिधिमण्डलले आफ्नो क्षेत्रसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए ।

आइतबार पाकिस्तानको इस्लमावाद हुँदै नेपाल आइपुगेका विदेशमन्त्री वाङले मंगलबार विहान उच्चस्तरीय भेटवार्ता र पर्यटकीय क्षेत्रको मनोरञ्जनात्मक भ्रमण सम्पन्न गरी चीन फिर्ता हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीसँग भेटघाट

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धलगायत आर्थिक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ ।

नेपाल र चीनबीच तीन वटा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी भएर वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १० : २२ बजे