लस एन्जल्स– अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान दुर्घटनामा चालकको मृत्यु भएकाे छ ।
अपल्याण्डको केबल विमानस्थलबाट उडेको उक्त विमान आवासीय भवनको छतमा खसेको थियो । विमान छतमा खस्नासाथ घरमा आगो लाग्ने त्रासले अग्निनियन्त्रकहरु घटनास्थलमा पुगेका थिए ।
प्रत्यक्षदर्शीहरुले विमान निकै होचोगरी उडेको र एक घरको छतमा ठोक्किन पुगेको बताएका छन् । विमान ठाेक्किएको घरमा एक पुरुष र उनका छोरा बसेका थिए । छतमा ठोक्किएपछि उनीहरु भाग्न सफल भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
एकमात्र इन्जिन भएको उक्त विमान एसआर २२ नामको सानो विमान हो । दुर्घटनाको कारण भने पत्ता लागेको छैन ।








