१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

अब विदेशी च्यानलले नेपालमा विज्ञापन देखाउन नपाउने



काठमाडौ‌ं– नेपालमा अब विदेशी च्यानलले आफ्नो प्रसारणमा विज्ञापन बजाउन नपाउने भएका छन्।

कात्तिक ८ गते राजपत्रमा प्रकाशित विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ ले विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने (क्लिन फिड) को प्रावधान राखेको छ।

विधेयकको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यालहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने भनिएको छ । ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने पनि ऐनमा उल्लेख छ ।

अब विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था समेत राखेको छ।
धेरै अघिदेखि विदेशी च्यानलले विज्ञापनरहित प्रसारण गर्नुपर्ने माग उठ्दै आए पनि हालैमात्र यसले कानुनी रूप पाएको हो।

केबल व्यवसायी संघले भने विज्ञापनरहित व्यवस्थाका कारण विदेशी च्यानलको नेपाल प्रसारण अनुमति लिँदा महँगो पर्ने र उपभोक्ताले विदेशी च्यानल हेर्दा महँगो शुल्क तिर्नुपर्ने बताउँदै आएका छन्।

भारतीय नाकाबन्दीपछि सरकारले नेपालमा प्रसारण हुने भारतीय टेलिभिजन प्रभावित हुने गरी क्लिन फिड नीति ल्याएपछि त्यसलाई अर्थपूर्ण रूपमा हेरिएको थियो। सरकारले राष्ट्रिय आमसञ्चार नीति २०७३ स्वीकृत गर्दै २०७४ साउन १ गतेदेखि क्लिन फिड लागू गर्ने निर्णय गरेको थियो।

सरकारले अघिल्लो वर्ष साउन १ गतेदेखि क्लिन फिड नीति लागू गर्ने भनी सार्वजनिक सूचना प्रकाशित गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन।

गत वर्ष असार २९ गते सार्वजनिक सूचना प्रकाशित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १ गतेदेखि विज्ञापनसहितका विदेशी च्यानल प्रसारण नगर्न आह्वान गरेको गरे पनि केबल व्यवसायीको विरोध पछि कार्यान्वयन हुन सकेको थिएन।

क्लिन फिड लागू भएलगत्तै नेपालमा प्रसारण हुने १५० भन्दा बढी हिन्दी भाषी टेलिभिजन च्यानलमा देखाइने विज्ञापनहरू बन्द हुन्छन्। यसले नेपालका केबल टेलिभिजन व्यवसायी जस्तै भारतीय प्रसारण कम्पनीहरूलाई पनि चिन्तित बनाएको छ।

क्लिन फिडको विरोध गर्दै केबल टेलिभिजन व्यवसायीहरूले जारी गरेको विज्ञप्तिमा भारतीय ब्रोडकास्टिङ एसोसिएसनले पनि नेपालका लागि छुट्टै क्लिन फिड लागू गर्न नसक्ने बताएकाले क्लिन फिड कार्यान्वयन भए नेपालमा विदेशी च्यानल चलाउन नसकिने जनाइएको छ।

सरकारले २०७३ मा तयार पारेको विज्ञापनरहित (क्लिन फिड) नीतिअनुसार अमेरिका, युरोपेली, दक्षिणपूर्वी एसियाली मुलुकले विज्ञापनसहित प्रसारण गर्ने च्यानलले ग्राहकबाट शुल्क लिन नपाउने व्यवस्था गरेका छन्। यी मुलुकहरूमा विज्ञापनरहित प्रसारण गर्ने च्यानलले ग्राहकबाट शुल्क लिन पाउने प्रावधान रहेको नीतिमा उल्लेख गरिएको छ।

नेपाली प्रसारण कम्पनीहरूले वार्षिक झण्डै ५० करोड विदेशी च्यानलहरू प्रसारण गरेबापत तिर्दै आएका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ११ : २१ बजे