उपनिर्वाचनको प्रचार आज अन्तिम, नेकपा र कांग्रेसबीच टक्कर

२०७६ मंसिर ११, बुधबार ११:०४

काठमाडौं– शनिबार हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने बुधबार अन्तिम दिन हो । राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु बुधबार अन्तिम प्रचारमा जुटेका छन् ।

देशभरिका एक प्रतिनिधि सभा, तीन प्रदेश सभा र ४८ स्थानीय तह गरी ५२ स्थानमा शनिबार मतदान हुँदैछ । कास्की–२ मा प्रतिनिधिसभा, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ । धरान उपमहानगरपालिका प्रमुख, तीन गाँउपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडा अध्यक्षाका लागि शनिबार मतदान हुँदैछ ।

यो निर्वाचन सत्तापक्ष र प्रतिपक्षबीच प्रतिष्ठाको लडाइँ बनेको छ । नेकपाले कास्की र बाग्लुङलाई बढी जोड दिएको छ भने नेपाली कांग्रेसले धरान र कास्कीलाई विशेष जोड दिएको देखिन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु धरान र पोखरा केन्द्रित भएका छन् । नेकपाको शीर्ष नेतृत्व पनि बाग्लुङ, पोखरा, धरानलगायतका स्थानमा चुनाव प्रचारमा व्यस्त छ । मंगलबार बारा पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल बुधबार बिहानै अन्तिम चुनावी सभालाई सम्बोधन गर्न पोखरा पुगेका छन् । पोखराको कार्यक्रम सकेर दाहालले धरानको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्बन्धित समाचार