५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

भारतमा नागरिकतासम्बन्धी विधेयक पारित, गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउन अमेरिकी आयोगको सुझाव



काठमाडौं– धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी आयोगले भारतका गृहमन्त्री अमित शाहमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको छ । भारतको तल्लो सद लोकसभाबाट नागरिकता संशोधन विधेयक पास भएपछि लाखौं मुस्लिम र गैरहिन्दू अल्पसंख्यकहरू नागरिकताविहीन हुने भन्दै अमेरिकी आयोगले चिन्ता व्यक्त गरेको छ ।

मंगलबार अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका लागि अमेरिकी आयोग (युएससीआइआरएफ) ले प्रेस विज्ञप्ति जारी गरि यो विधेयक माथिलो संसदबाट पनि पारित भएमा अमेरिकी सरकारले भारतीय गृहमन्त्री अमित शाहसहित अन्य प्रमुख नेतामाथि प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिएको हो ।

अमेरिकी आयोगले भारतमा धर्मनिरपेक्षताको इतिहास समाप्त पार्ने गरी अब नागरिकता लिन पनि निश्चित धर्मको परीक्षा दिनुपर्ने अवस्था सिर्जना भएको आरोप लगाएको छ ।

भारतको संसदमा सोमबार नागरिकतासम्बन्धी विधेयक बहुमतबाट पारित भएको छ । विधेयकको पक्षमा ३११ र विपक्षमा ९० मत परेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । विधेयक पारित भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुसी व्यक्त गर्दै गृहमन्त्री अमित शाहको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  २ : ०९ बजे