१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसमा पौडेल पक्षले किन गर्‌यो बैठक बहिष्कार



काठमाडौँ — कांग्रेसका केन्द्रीय पदाधिकारीसहित सदस्यहरूको कार्यकाल सकिन लाग्दा पनि सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको कार्यतालिका तय गर्न नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेको छ।

देउवाले स्थानीय तहका संरचनालाई नयाँ राज्य संरचनाअनुसार समायोजन गरेपछि मात्रै महाधिवेशनको कार्यतालिका ल्याउने अडान लिँदा पौडेल पक्षले बैठक बहिष्कार गरेको हो।

बैठक बिहीबार दिउँसो १ बजे बोलाइएको थियो। बैठक सुरु हुनुअघि केन्द्रीय कार्यालयमा करिब दुई घण्टासम्म देउवा र पौडेलको कार्यकक्षमा आ–आफ्नो समूहको अनौपचारिक छलफल चलेको थियो।

बैठकमा प्रस्तुत हुने ९ वटा एजेन्डामा पार्टी संरचनाको समायोजनसम्बन्धी छलफल, उपनिर्वाचनको समीक्षा, केन्द्रीय विभागको संरचनागत र संख्यात्मक परिमार्जन, सीमा अतिक्रमणलगायतका प्रस्ताव समावेश थिए। केन्द्रीय महाधिवेशन कहिले गर्ने भन्ने कार्यतालिकाबारे एजेन्डा नपरेपछि पौडेल समूहले आपत्ति जनाएको हो ।

केन्द्रीय महाधिवेशन कहिले गर्ने भन्ने कार्यतालिकाको एजेन्डा नपरेपछि पौडेल र उनी पक्षीय सदस्यहरूले बैठकमा सहभागी नहुने निर्णय गरे भने देउवापक्षीय सदस्यहरू बैठक चलाउने निर्णयमा पुगे। बहिष्कारबीच बसेको केन्द्रीय बैठकले आन्तरिक मुद्दामा निर्णय नगरी समसामयिक विषयमा पार्टीको दृष्टिकोण सार्वजनिक गरेको छ।

पौडेल पक्षको मुख्य आशंका सभापति देउवाले कार्यकालको अन्तिम समयमा महाधिवेशनलाई प्रभावित पार्ने गरी केन्द्रीय विभाग गठन गर्न खोजेको प्रति छ। त्यस्तै नेविसंघ र तरुण दल गठनसमेत एकपक्षीय रूपमा गर्न खोजेको आरोप पौडेल पक्षको छ।

बैठकले दक्षिण एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई बधाई दिनुका साथै संवैधानिक परिषद्को कार्यविधि परिवर्तन गर्न मन्त्रिपरिषद्ले ल्याउन खोजेको अध्यादेशको विरोध गरेको छ । पार्टीका आन्तरिक विषयमा सहमति खोज्नका लागि भने कुनै निर्णय गरिएको छैन । अर्को बैठक आइतबार बोलाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ११ : ०९ बजे