प्रदेश ५ को नाम लुम्बिनी, राजधानीका लागि तीन ठाउँ सिफारिस

२०७६ मंसिर ३०, सोमबार १२:०२

बुटवल — प्रदेश ५ को नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ । प्रदेशको नाम तथा राजधानी तोक्न गठन गरिएको विशेष समितिले यस्तो सिफारिस गरेको हो ।

समितिको आइतबार बसेको बैठकले नाम सिफारिस गरे पनि प्रदेशसभालाई बुझाएको छैन । समितिको सिफारिसलाई प्रदेश सभा बैठकको दुई तिहाइले पारित गर्नुपर्ने प्रावधान छ ।

डेढ वर्षअघि गठित समितिले नामको जिम्मेवारी पूरा गरे पनि राजधानी कहाँ भन्ने एकिन सिफारिस गर्न सकेको छैन ।

समितिले राजधानीका लागि रुपन्देहीको बुटवल र सैनामैना, कपिलवस्तुको बाणगङ्गा र बुद्धभूमि तथा दाङको भालुवाङ, लमही गरी तीन स्थान सिफारिस गर्ने तयारी गरेको छ । एकै ठाउँमा राजधानी तोक्दा विवाद आउने भएपछि यसो गरिएको हो ।

नाम र राजधानी तोक्ने विषयमा सहमति हुने अवस्था नदेखिएपछि प्रदेशसभा बैठकले २०७५ साउनमा प्रदेश सभा सदस्य दिपेन्द्र पुनको संयोजकत्वमा विशेष समिति गठन गरेको थियो । समितिले पहिलो कार्यादेशभित्र जिम्मेवारी पूरा गर्न नसकेपछि तीन/तीन पटक म्याद थप गरिएको थियो ।

 

सम्बन्धित समाचार