दैलेख— दैलेखको ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई अपहरण गरिएको छ । शनिबार राति १२ बजेतिर १५/१६ जनाको समूहले घरमै आएर शाही र उनकी श्रीमतीलाई अपहरण गरेको हो ।
ठाटिकाँध गाउँपालिका वडा नं–२ शेरीपाटामा रहेको आफ्नै घरबाट अपहरण गरिएको शाहीका भाइ हस्तबहादुर शाहीले बताए । नेत्रविक्रम चन्द समूहले अपहरण गरेको अनुमान गरिएको छ। शाहीकी श्रीमती इलालाई गुईच्याखर्क जंगलमा भेट्टाएको हस्तबहादुरले बताएका छन् ।
अध्यक्ष शाहीलाई चन्द समूहका हतियारधारी कार्यकर्ताले जंगलमा राखेको, राजनीतिक मुद्दा भएकाले अपहरण गरिएको र २/३ दिनभित्र छाड्ने आश्वासन दिएर भाउजुलाई मुक्त गरेको हस्तबहादुरले बताए ।
अपहरणको सूचना पाउनेबित्तिकै जिल्ला र प्रदेश कार्यालयबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।