५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

सूचना प्रविधि विधेयक विकास समितबाट बहुमतले पारित, अब सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने



काठमाडौँ– प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । आइतबार बसेको समितिको बैठकले विधेयक बहुमतले पारित गरेको हो । विधेयकमा कांग्रेस सांसदहरुको फरक मत थियो ।

कांग्रेसका सांसदहरुले विधेयकको समग्र विषयमा सरोकारवाला र सञ्चार क्षेत्रसँग छलफल माग गरेका थिए । उक्त विधेयक जस्ताको तस्तै पारित भए जनताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने, संविधानले ग्यारेन्टी गरेका मौलिक हक कुण्ठित हुने र स्वतन्त्र पत्रकारितामाथि अंकुश लाग्ने भएकोले आफ्नो पार्टीले विरोध गरेको कांग्रेस सांसद बहादुरसिंह लामाले बताए ।

समिति बैठकमा विधेयकमाथि हात उठाएर मत जाहेर गरिएको थियो । कांग्रेस सांसद रङ्गमती शाही, बहादुरसिंह लामा र राम बहादुर विष्‍टले विपक्षमा हात उठाएका थिए ।

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान छ । यो प्रावधानमा कांग्रेसले असहमति राखेको हो ।

विधेयकमा सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने व्यवस्था पनि छ । नेपालमा प्रयोगकर्ता बढेकाले र ती सञ्जालमार्फत व्यवसायिक कारोबार बढ्दै गएकाले करको दायरामा ल्याउन दर्ता गर्नुपर्ने व्यवस्था राखिएको सञ्चार ताथ सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको बैठकमा घोषणा गरिन् ।

समिति बैठकबाट पारित भएपछि यो विधेयक प्रतिनिधिसभामा पेश हुनेछ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ४ : ०३ बजे