७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

मिसाइल आक्रमणबाट ८० अमेरिकी सेना मारिएको इरानी सञ्चारमाध्यमको दाबी



एजेन्सी– इरानले इराकस्थित अमेरिकी सैन्य अड्डामा गरेको आक्रमणमा परी कम्तीमा ८० अमेरिकी सैनिक मारिएको दाबी गरेको छ।

सरकारी टेलिभिजन इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङले इस्लामिक रिभोलुसन गार्डस् कोर्पसको स्रोतलाई उद्धृत गर्दै कम्तीमा पनि ८० अमेरिकी सैनिकले ज्यान गुमाएको जनाएको छ।

मिसाइल हानिएको एन अल-असाद एयरबेस अमेरिकाका लागि रणनीतिक अड्डा थियो जहाँबाट ड्रोनलाई सहयोग पुर्‍याउने प्रयोग गरिएको थियो।

बुधबार इरानले अमेरिकी सेना बस्ने इराकको एन अल-असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी मिसाइल आक्रमण गरेको थियो।

गत शुक्रबार अमेरिकाले ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि बदलामा इरानले यो हमला गरेको जनाएको छ ।

हमलाबाट भएको क्षतिको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिसाइल हमलाबाट केही नभएको बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्- अल इज वेल! इराकका दुई सैन्य अड्डामा इरानबाट मिसाइल आक्रमण भएको छ। आक्रमणबाट भएको मानवीय र भौतिक क्षतिको अध्ययन हुँदैछ। अहिलेसम्म सबै ठीक छ। हामीसँग अहिले संसारकै सबैभन्दा बलियो र शस्त्रले सुसज्जित सैनिक छ। यसबारे म भोलि बिहान प्रतिक्रिया दिनेछु।

यसअघि ट्रम्पले इरानले आफ्ना नागरिक र सम्पत्तिमाथि हमला गरे इरानका ५२ साँस्कृतिक महत्वका स्थानमा आक्रमण गर्ने चेतावनी दिएका थिए।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  १ : ०६ बजे