जनकपुर– धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा बालुवा, गिट्टी उत्खनन् गरेको विरोध गर्दा हत्या गरिएका दिलीप महतोको परिवारलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
धनुषाको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न खोज्दा मिथिला नगरपालिका-५ श्रीनगरका २४ वर्षीय महतोको गत शुक्रबार बिहान टिपरले कुल्चिएर हत्या गरिएको थियो ।
हत्या आरोपमा क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन महतो, टिपर चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशनकुमार यादव पक्राउ परेका छन् ।
चारै जनाविरुद्ध मुद्दा अघि बढाउन प्रहरीले धनुषा जिल्ला अदालतबाट आइतबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद लिएको छ । हत्याका मुख्य योजनाकार भनिएका विपिन महतोको औरही खोलामा चुरियामाई बालुवा प्रशोधन छ ।
धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले अभियुक्तहरूसित आइतबार बयान लिन सुरु भएकाले घटनामा अरू को–को संलग्न छन् भन्ने खुल्न समय लाग्ने बताए ।








