३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

पश्चिमी क्षेत्रमा फेरि वर्षा र हिमपातको सम्भावना



काठमाडाैं– पश्चिमी न्यून चापीय वायुको प्रभावले सोमबार अपराह्नबाट देशको पश्चिमी भू–भागका अधिकांश स्थानमा बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार रातिबाट उक्त पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुने र मौसममा सुधार हुने बताइएको छ । मौसमी प्रणालीमा छिटो–छिटो परिवर्तन आएका कारण केही दिन मौसम सफा हुने र फेरि बदलीसहित वर्षा तथा हिमपात हुने प्रवृत्ति दोहोरिएको मौमसविद् प्रतिभा मानन्धरले बताइन् । ‘कुनै वर्ष बर्खायाममा बढी सुख्खा भयो भने हिउँदमा बढी वर्षा हुन्छ,’ मौसमविद् मानन्धरले भनिन् । सोमबार विकसित हुने मौसमी प्रणाली पश्चिमी भूभागमै भित्रिएर पश्चिमबाटै बाहिरिने र अन्य भूभागमा त्यसको प्रभाव नपर्ने जनाइएको छ ।

मंगलबार देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य पहाडी भूभागमा आंशिक बदली हुने बताइएको छ । माघ १ गते देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ११ : २७ बजे