अमेरिकामा तामाङ समाजले मनायो सोनाम ल्होसार

२०७६ माघ १६, बिहीबार ०१:०२

 

तामाङ समुदायको महान पर्व सोनाम ल्होसार (नयाँँ वर्ष) तामाङ समाज अमेरिकाले विशेष कार्यक्रमको साथ मनायो । बौद्धधर्म परम्परा अनुसार साङ सेरकिम पुजासंगै शुरु भएको ल्होछार कार्यक्रममा तामाङ समुदायको साथै न्युयोर्क र आसपासमा रहेको विभिन्न समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थिए ।
प्रवासमा आफनो धर्म र सस्कृतिको संरक्षणको लागी आयोजना गरेको ल्होछारमा तामाङ समाजले यस पटक बौद्धधर्म गुरु लोपेन गिर्मि छोढकको उपस्थितिमा विशेष धार्मिक पुजा पाठ गरेका थिए ।

पुजा सकिए लगतै कार्यक्रममा उपस्थित पाहुनालाई आयोजकले तामाङको टोपि र खादा लगाइदिएर ल्होछारको शुभकामना आदानप्रदानसंगै न्यानो आत्मीयता साटेका थिए । धार्मिक पुजा, नेपाल र अमेरिकाको राष्ट्रिय गानसँगै बुद्धको प्रतिमामा छयोमि बालेर औपाचारिक कार्यक्रम शुरु भएको थियो । तामाङ समाजले गत वर्ष वेलोजिनोमा र यस पटक गुल्सन टेरेशमा ल्होसार मनाएको थियो । समाजले अलगै ल्होसार मान्न थालेको यो दोश्रो हो । कार्यक्रममा उपस्थित पाहुनाहरुलाई समाजका बरिष्ठ उपाध्याक्ष बुद्धिमान तामाङले स्वागत मन्तव्य दिएका थिए भने समाजका अध्यक्ष सानुमाया तामाङले कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिएकी थिईन् ।

उक्त अवसरमा आदीवासी जनजाती महासंघ फिप्नाका पुर्व अध्यक्ष तथा तामाङ समाजका संरक्षक लुइसाङ वाइवा, एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारि, आदीवासी जनजाती महासंघ फिफ्नाका सल्लाहकार मणि वाङदेल, शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पा, बागलुङ समाजका अध्यक्ष चन्द्र जिशि, एनआरएन व्यापार तथा पर्यटन संयोजक आङ जाङबु शेर्पा, लङ आइल्याण्ड समाजका प्रतिनिधि राजन गौलि, तमु परिवारका अध्यक्ष मनिता गुरूङलगायतले  ल्होसारको शुभकामना मन्तव्य दिएका थिए ।

पहिलो र दोश्रो चरणमा भएको कार्यक्रम समाजका महासचिव विनिता तामाङले सञ्चालन गरेकी थिईन् । औपाचारिक कार्यक्रमपछि दोश्रो चरणमा तामाङ लोक संस्कृति झल्कने विभिन्न तामाङ नृत्यहरुसंगै जंकार डान्स सेन्टर र बसन्त डान्स सेन्टरको कोरियोग्राफीमा विभिन्न लोक नृत्यहरु प्रस्तुत गरिएक थियो ।

सम्बन्धित समाचार