५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय



काठमाडाैं– सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिस्तरीय बरियता दिइएका राजदूत पौडेललाई १५ दिन भित्र नेपाल आउन समय दिएको हो।

कोभिड-१९ भाइरसको महामारीसँग जुधिरहेको उत्तरी छिमेकी चीनबाट सरकारले राजदूतलाई किन फिर्ता बोलाउन लागेको भन्ने खुलिसकेको छैन।

पूर्वमुख्यसचिव समेत रहेका राजदूत पौडेलको नाम यसअघि बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा जोडिएको थियो।

पौडेलको ठाउँमा पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूत बनाएर बेइजिङ पठाउने तयारी गरिएको बुझिएको छ।

मिर्गौला प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीले आइतबार साँझ आकस्मिक रूपमा मन्त्रिपरिषदको बैठक बोलाएका थिए।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  १२ : ३२ बजे