विधान सभा सदस्यका उम्मेद्धवर जोया चौधरीलाई सहयोग गर्न आग्रह

२०७६ फाल्गुन १९, सोमबार २३:५३


न्यूयोर्क राज्यअन्र्तगत विधानसभा सदस्य पदका उम्मेदवार दक्षिण एसियालीमुलका अमेरिकन नागरिक जोया चौधरीलाई जिताउन विभिन्न नेपाली समुदायका प्रतिनिधिहरुले आग्रह गरेका छन् । ज्याक्सन हाइटमा हालै आयोजित कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष तथा जनसम्पर्क समितिका पूर्व अधिवेशन संयोजक खगेन्द्र क्षेत्रीले दक्षिण एसियालीमुलका अमेरिकन जोया चौधरी नेपाली समुदायसंग अत्यन्तै नजिक हुुदै विभिन्न कार्यहरु गर्दै आएकोले आगामी निर्वाचनमा उनलाई सबैले सहयोग गर्नु पर्ने बताए । ‘ नेपाली समुदायसंग नजिक रहेर समुदायको हितमा विभिन्न कार्यहरु गर्दै आएको जोया चौधरीलाई विधानसभा सदस्य पदमा जिताउन सबैलाई आग्रह गर्दछु’, एनआरएन अमेरिकाका पूर्वअध्यक्ष एवं कानुन व्यवसायी खगेन्द्र क्षेत्रीले भने, ‘तपार्इं हाम्रै समुदायमा काम लाग्नेहरुलाई जिताउनु हाम्रो कर्तव्य हो ।’ बंगलादेशमा जन्मिएका अमेरिकन नागरिक चौधरी ज्याक्सन हाइट, पूर्वी एल्मस्ट र उडसाइडअन्र्तगत ३४ नम्बर डिस्ट्रिकबाट विधानसभा सदस्यको उम्मेदवार हुन् । दक्षिण एसियाली मुलबाट अहिलेसम्म कोही उम्मेद्धवर नभएको अवस्थामा नेपाली समुदायसग नजिक रहेर काम गर्दै आएका चौधरी एसियन अमेरिकन समुदायको सहयोगमा चुनावमा होमिएका हुन् ।

‘दक्षिण एसियालीमुलबाट अमेरिकामा राजनीतिमा लागेका जोया चौधरी एक सक्षम उम्मेदवारको रुपमा चिनिन्छ’ एल्मस्ट हस्पिटल बोर्ड सदस्य यादव बास्तोलाले भने, ‘चुनाव जितेमा हाम्रो आवाज अमेरिकी कानुनमा समावेश गराउनका लागि उनले योगदान दिन सकिने भएकोले सबैले सहयोग गर्नुपर्ने देखिन्छ ।’ चौधरीले जितेमा ठूलो उपलब्धि हुने बास्तोलाले बताए । उनकाअनुसार चौधरी न्युयोर्क राज्यको कानुन निर्माण गर्ने समितिको उम्मेदवार भएकाले साउथ एसियन समुदायलाई सहयोग हुनेछ । त्यस्तै एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले विद्यार्थी जीवनदेखिनै अमेरिकी राजनितिमा सक्रियताका साथ लाग्दै आएका चौधारीले नेपाली समुदायको हितमा महत्वपूर्ण कार्य गर्दै आएकोले उनको कार्यको उच्च मूल्यांङ्कन गर्दै सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए ।

त्यस्तै आदिवासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले पनि नेपाली समुदायको हितमा लाग्दै आएका दक्षिण एसियाली युवा नेता जोयालाई सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा तमु परिवार न्युर्योकका पुर्व अध्यक्ष डम्बरजंग गुरुङले पनि नेपाली समुदायले सहयोग गर्नु पर्ने बताएका थिए । अमेरिकी मूलधारको राजनीतिमा प्रवेश गर्न लागेको जोयालाई हामी सबै दक्षिण एसियाली समुदायले सहयोग गर्नुपर्ने जरुर भएको तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले बताइन् । त्यस्तै किरात याक्थुङ चुम्लुङका महासचिव सुमन थामसुङ लिम्बुले सैनिक पृष्ठभूमिमा रहेका व्यक्तिले समुदाय र देशको हितमा उल्लेखनीय कार्य गर्न सकिने भएकोले नेपाली समुदायको नजिकको अमेरिकी शैनिकमा कार्यरत मित्र जोयालाई सबैले सहयोग गर्नुपर्ने बताए ।

अमेरिकी सैनिकमा कार्यरत ३५ वर्षीय चौधरी लर्गोडिया कम्युनिटी कलेजमा विद्यार्थी समूहका अध्यक्ष थिए । चौधरीसंग कुइन्स काउन्टी योङ डेमोक्र्याट समूहको कोषाध्यक्ष समेत भएर काम गरेको अनुभव छ । उनले २२ डिस्ट्रिक काउन्सिल म्यान कोस्टा कोन्स्टानटिनिजडेजको कार्यालयमा समुदाय समन्वयकर्ता रहेर काम गरेका छन् । चौधरीले सन् २०१५ मा न्युयोर्क राज्यमा गभर्नर कुमोको कार्यालयबाट विद्यार्थीहरुले अतिरिक्त कक्षाको रकम घटाउनुपर्ने माग राखि गरेको आन्दोलनको नेतृत्वसमेत गरेका थिए । अमेरिकाको न्युयोर्कमा करिअरको सुरुवात ट्याक्सी डाइभरबाट गरेका चौधरीले साउथ एसियन मुलुकबाट अमेरिका आइ बसाबोस गनर्हेरुलाइ एकीकतृ गरी  भोटर  एसोसियसन समेत सुरुवात गरेका छन । साउथ एसियन भोटर एसोसियसनका अध्यक्ष समेत रहेका चौधरी कुइन्स काउन्टीबाट उम्मदेवार भएकाले चुनाव जित्ने आकालन गरिन्छ । एसियन अमेरिकन समुदायको ठुलो हिस्सा कुइन्स क्षेत्रमा बसोबास गदर्छ ।

साउथ एसियन समुदायका मुद्दाजस्तै अध्यागमन, भाषा समस्या, विद्यार्थीका लागि अतिरिक्त कक्षा सहयोग लगायतका विषयमा सहयोग गर्दै आएका चौधरीले नेपाली समुदायको हितमा समेत काम गरेका छन् । चौधरीले नेपाली समुदायका लागि टिपिएस नविकरण, एल्मस्ट अस्पतालमा नेपाली प्रतिनिधि नियुक्ति, न्युयोर्कको सडकको माउन्ट एभरेस्ट नामकरण र ड्राइभिङ लाइसेन्स निवेदन नेपाली भाषामा दिन पाउने व्यवस्था लगायतका विषयमा सिटी काउन्सिलसाग सहकार्य गर्दै सहयोग गरेका छन् ।

सम्बन्धित समाचार