५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

चैत ९ बाट अत्यावश्यक बाहेक सबै सेवा बन्द



काठमाडौं । अत्यावश्यक बाहेकका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरु चैत ९ गतेदेखि १२ दिनका लागि बन्द गरिएको छ ।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ गतेसम्मका लागि अत्यावश्क बाहेक सबै सेवाहरु बन्द गरिएको घोषणा गरेका हुन् ।

उनले सम्बोधनको क्रममा भने, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

त्यसैगरी नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको, सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइएको, चैत १० गतेदेखि केहि समयलाई  नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको तथा मानिसहरुको भीडभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको पनि प्रधानमन्त्रीले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ८ : ५६ बजे