मच्छे गुरुङ
न्युयोर्क– न्युर्योकमा कोरोनाको संक्रमण दिनहुँ बढ्न थालेपछि गर्भनर एन्ड्रीयु कुमोले न्युयोर्क राज्यका सबै ब्यवसाय बन्द गर्न आदेश दिएका छन् ।
मार्च २२ (आइतबार) बेलुका ८ बजेदेखि लागू हुने गरी अत्यावश्यक सेवा बाहेकका सबै कम्पनी बन्द गर्न आदेश दिएको गर्भनर कुमोले बताए । सबै नागरिकको सुरक्षाका लागि १० बुँदे नीतिसहित न्युयोर्क राज्य बन्द गर्न आदेश दिएको बताउँदै गर्भनर कुमोले न्यूयोर्क अस्थायी रुपमा बन्द हुने र सबै सामाजिक कार्यक्रम स्थगित गर्न निर्देशन दिएको बताए । तर अत्यावश्यक सेवाका अस्पताल, ग्रोसरी स्टोर, सुरक्षा लगायतका सेवा भने सुचारु रहने छन् ।
न्युयोर्क बन्द गर्न आदेशसँगै शनिबार ग्रोसरी स्टोरहरुमा दैनिक उपभोग्य सामान किन्नेको भीड लागेको थियो । कोरोना भाइरसले विश्वलाई नै आक्रान्त बनाएको बेला विश्वकै मुटु न्युयोर्क सहर सुनसान भएको छ । दैनिक ४० लाख भन्दा बढी यात्रु आवतजावत गर्ने सव वे स्टेशन शून्य भएको छ ।
विश्व स्वास्थ्य संगठन, युएस सेन्टर फर डिजिज कन्ट्रोलले दिएको जानकारी अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २६ हजार १ सय ११ जना संक्रमित भएकोमा ३ सय २४ जना मृत्यु भएको छ भने १ सय ७६ जना निको भएका छन् ।
न्युयोर्कमा भने ११ हजार ७ सय २९ जना संक्रमित भएकोमा ६० जना मृत्यु भएको जनाएको छ । त्यस्तै वासिङटनमा ९४ जना, क्यालिफोर्नियामा २४ जना, न्यूजर्सीमा १६ र ल्युजियानामा १६ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण बढेपछि न्यूयोर्कसहित न्युजर्सी, क्यालिफोर्निया लगायत राज्यका सम्बन्धित गर्भनरहरुले सबै नागरिकलाई घरमै बस्न आदेश दिएका छन् ।
जोन हप्सकिन विश्वविद्यालयले दिएको तथ्यांक अनुसार विश्वभरिमा ३ लाख जना संक्रमित भएकोमा १२ हजार ९ सय ५० जनाको ज्यान गइसकेको छ भने ९१ हजार बिरामी निको भएका छन्।