काठमाडौं । सरकारले देशभित्र लकडाउन दश दिन थप गरेको छ भने अन्तर्राष्ट्रिय सीमा र हवाई उडानलाई जेठ १८ गतेसम्मलाई बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ ५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
कोरोना संक्रमणको जोखिम अझै नघटेको र मुलुकका िबभिन्न क्षेत्रहरुमा संक्रमित देखिने क्रम जारी रहेको भन्दै सरकारले उक्त निर्णय गरेको हो । पछिल्लो समय बढाएको लकडाउनको अवधी भोली बैशाख २५ गते सकिंदै छ । चैत ११ गतेदेखि पटक पटक गरेर लकडाउन बढाउँदै ल्याएको छ ।
त्यसैगरी छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका भन्दै सीमा नाकाहरु जेठ १८ सम्म बन्द गर्ने र थप कडाईका साथ आवतजावत रोक्ने निर्णय पनि गरेको छ ।
सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानलाई पनि जेठ १८ गतेसम्मका लागि प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध जेठ २ सम्म थियो ।
नेपालमा हालसम्म ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २२ जना निको भएर घर गइसकेका छन् । घर गएकाहरु मध्ये ३ जनामा फेरी संक्रमण देखिएपछि उपचार गराइरहेका छन् ।