अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतविरोधी भावनालाई नेपाली राष्ट्रवादसँग जोड्ने समय सकिएको बताएका छन्। भारत भ्रमणका क्रममा नयाँदिल्लीमा आयोजित ‘एनडिटिभी वर्ल्ड समिट २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले उक्त कुरा बताएका हुन्।
भारतीय सञ्चारमाध्यम एनडिटिभीद्वारा बिहीबार र शुक्रबार आयोजित सम्मेलनको ‘Proximity to Prosperity: The India-Nepal Opportunity’ शीर्षकको सत्रमा बोल्दै वाग्लेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न इच्छुक रहेको स्पष्ट पारे। दुई देशबीच बेलाबेला केही समस्या देखिए पनि भौगोलिक र सामाजिक निकटताले नेपाल र भारतलाई गहिरोसँग जोडेको उल्लेख गर्दै उनले प्रधानमन्त्री शाहले चाँडै भारतको भ्रमण गर्ने जानकारीसमेत दिए।
उक्त सत्र नेपाल-भारतको निकटतालाई आर्थिक समृद्धिको अवसरमा कसरी बदल्ने भन्ने विषयमा केन्द्रित थियो। सो क्रममा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनका कारण हुने क्षतिको पुनर्निर्माणका लागि नेपालजस्ता कम योगदान भएका मुलुकले ऋण लिनुपर्ने बाध्यतामाथि गम्भीर प्रश्न उठाए। बाढीले ध्वस्त पारेका पुल, सडक, जलविद्युत् आयोजना र घरहरू पुनर्निर्माण गर्न नेपालले किन ऋण लिने भन्ने विषयलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा छलफलको विषय बनाइनुपर्नेमा उनले जोड दिए।
यद्यपि, नेपालमा पर्ने ठूला प्राकृतिक विपद्का बेला भारतले पुर्याउँदै आएको तत्काल सहयोगको उनले प्रशंसा गरे। सन् २०१५ को भूकम्प र पछिल्लो बाढीको समयमा भारतबाट प्राप्त द्रुत सहायताको स्मरण गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई फोन गरी सहयोगको प्रतिबद्धता जनाएको उल्लेख गरे। यस्ता सरकारी तहका संवाद र सहयोगले दुई देशको सम्बन्धलाई थप मजबुत बनाएको उनको भनाइ थियो।
सम्मेलनमा अर्थमन्त्री वाग्लेले नेपालको ‘जेनजी’ आन्दोलन र नयाँ पुस्ताको राजनीतिक अपेक्षाबारे पनि चर्चा गरे। स्मार्टफोन र डिजिटल प्रविधिसँगै हुर्किएको युवा पुस्ता यथास्थिति स्वीकार्न तयार नरहेको बताउँदै उनले सडकको आक्रोशलाई दीर्घकालीन रूप दिन लोकतान्त्रिक संस्थाहरूसँग जोडेर संस्थागत गरिनुपर्ने धारणा राखे।
यसअघि बिहीबार आयोजित अर्को सत्रमा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग बदलिँदो अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय संस्थाका विषयमा छलफल गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत सम्बोधन गरेको उक्त शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबीच भेटवार्तासमेत भएको थियो।









