न्युयोर्क (एजेन्सी) । अमेरिकालाई उच्च सुरक्षा सतर्कतामा राखिएको छ। राष्ट्रपति निर्वाचित जो बाइडनले पदभार ग्रहणअघि हिंसा भड्किन सक्ने भन्दै सुरक्षा सतर्कता अपनाइएको हो । बाइडनले आगामी जनवरी २० मा पदभार ग्रहण गर्दै छन्।
गतसाता संसद्मा प्रदर्शनकारी प्रवेश गरेर हिंसा मच्ताए जस्तै हुन सक्ने आशंका गरिएको छ । हतियारधारी भिड पसेको दिन जस्तै हिंसात्मक हुन सक्ने आशंका गरिएको छ । राजधानी वासिङ्टन डीसीमा २० हजार नेशनल गार्ड्स परिचालन गरिएको छ। सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ।
शुक्रवार वासिङ्टन डीसीमा एक जना मानिस हतियारसहित पक्राउ परेका थिए। भर्जीनिया राज्यका ती मानिसले बन्दुक र ५०९ राउन्ड गोली बोकेका थिए।
कोभिड–१९ महामारीकाबीच बुधवार हुने समारोहमा सहभागी हुनका लागि देशभरबाट यात्रा नगर्न सर्वसाधारणहरूलाई बाइडनको टोलीले आग्रह गरेको छ।
ट्रम्प समर्थकहरूले अनलाइनमार्फत् हतियार सहितको प्रदर्शनको आह्वान गरेका कारण आजका लागि डाकिएको प्रदर्शन महत्त्वपूर्ण ठानिएको छ।
तर केहीले भने उक्त प्रदर्शन प्रहरीले सृजना गरेको फण्डा रहेको र सुरक्षा व्यवस्था निकै कडा पारिएको भन्दै त्यसमा सहभागी नहुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने लगत्तै अमेरिकामा सुरक्षा सतर्कता बढाइएको हो।अमेरिकी संसद् भवनमा विध्वंस भएसँगै तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएको थियो।