काठमाडौँ । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोहीलाई काठमाडौँमा भव्य स्वागत गरिएको छ । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीले उक्त टोलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर दिउँसो सम्मान गरेका छन् । उनले पहिले नै थाहा भएको भए आरोहणलाई सहयोग गर्ने पनि बताए । साथै आउँदा दिनहरुमा पहिले नै ओपचारिक जानकारी गराएको खण्डमा सरकारले गच्छे अनुसार सहयोग गर्ने पनि बताए ।
उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।
उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरिएको थियो । विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिएको थिए । त्यसपछि प्रधानमन्त्री निवास पुर्याएका थिए ।
प्रधानमन्त्री निवासको कार्यक्रममा टोली नेता पुर्जाले कसैले सहयोग नगरेपछि आफुहरु आफ्नै गोजीको पैसा हालेर पाकिस्तान पुगेको बताए । साथै सामूहिक प्रयासमा सबथोक संभव छ भन्ने सन्देश दिन चाहेको र त्यो स्पष्ट रुपमा विश्वलाई दिएको पनि उनले बताए ।
नेपाली आरोही समूह यही माघ ३ शनिबार दिउँसो ५ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विश्व आरोहणको क्षेत्रमा नेपाली टोलीबाट अर्को नयाँ इतिहास रच्न सफल भएको छ । विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथापछि विश्वकै अग्लो केटू आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । जाडोयाममा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन् ।
जाडोयाममा माइनस ८० डिग्रीको तापक्रम र १०० माइल प्रतिघण्टाको वायु गतिजस्ता प्रतिकूल अवस्थामा समेत आरोहण रच्ने नेपाली आरोहीको सफलताले विश्वभर चर्चा पाएको छ । विश्वभरका पर्वतारोहीले केटु हिमाललाई किलर हिमालको रूपमा समेत चर्चा गर्ने गरेका छन् । केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यानसमेत गुमाइसकेको जनाइन्छ ।