काठमाडौँ । राष्ट्रपति बिद्या भण्डारीबिरुद्ध दिएको अभिब्यक्तिका कारण नेकपाको दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यबिरुद्धको अपराधमा पक्राउ गरिएको छ ।
बिहीबार उनको शंखमूलस्थित निवासबाटै उनलाई पक्राउ गरिएको हो ।
यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो भने त्यस लगत्तै सादा पोसाकका प्रहरी शंखमूल पुगेका थिए । नेतृ झाँक्रीले उनीहरूलाई पक्राउ पुर्जी लिएर आउन भनेपछि पक्राउ पुर्जी लिएर गएको प्रहरीले पक्राउ गरेको हो ।
पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।
झाँक्रीले भने सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज लगाउन खोजेको बताएकी छिन् । ‘अहिले मलाई गर्न खोजिएको ह्यारेसमेन्ट होला । किनभने तानाशाहहरू ढल्ने बेलामा अनेक जुक्ति लगाउँछन्’ उनले पक्राउको बेला भनिन् ।
उनलाई पक्राउ गर्न खोजिएको खवर पछि नेकपा दाहाल–नेपाल समुहका कार्यकर्ताहरु उनको निवास पुगेका थिए । उनीहरुले सरकार र प्रहरीबिरुद्ध नारावाजीसमेत गरेका थिए ।
केही दिन अघि गोरखामा झाँक्रीले राष्ट्रपति भण्डारीलाई महारानी भन्दै बालकोट जान भनेका थिए भने मदन भण्डारीको मृत्युसँग जोडेर पनि अभिव्यक्ती दिएकी थिइन् ।
रिहा गर्न माग
यसैबीच नेकपाको दाहाल–नेपाल समुहले झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने जनाएको छ । उनले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु स्वेच्छाचारिता भएको टिप्पणी गरेका छन् ।
झाँक्रीको गिरफ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।